त्रिपोली (लिबिया) । अज्ञात बन्दुकधारीहरूले बिहिबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेबाहमाथि आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अब्दुल मेनेम अलअरबीले विज्ञप्तिमा भनेका छन्– ‘आज अघि, प्रधानमन्त्रीको यात्रालाई सुक अल जुमा जिल्ला (मध्य त्रिपोली) मा लाइसेन्स प्लेटबिनाको गाडीमा सवार व्यक्तिले सशस्त्र आक्रमणको सिकार बनाएको थियो ।’
आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अलअरबीले ‘देशको राजनीतिक घटनाक्रम’ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।
‘आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ’ प्रवक्ताले भने– ‘अपराधीलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ ।’
प्रतिनिधि सभा (संसद्) ले फाथी बासाघालाई देशको नयाँ प्रधानमन्त्रीका लागि सर्वसम्मतिले मतदान गरेको केही घण्टापछि विज्ञप्ति जारी गरिएको हो ।
यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र ‘निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने’ बताएका थिए । उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेबु्रअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।
लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो । लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो तर प्राविधिक र कानुनी कारणले अनिश्चित कालका लागि स्थगित गरिएको थियो । (रासस–एएनआई÷सिन्ह्वा)