नयाँदिल्ली । भारतमा नक्सलवाडीसित सम्बन्धित हिंसामा पछिल्लो वर्ष उल्लेख्य मात्रामा कमी आएको हालै सार्वजनिक गरिएको एक रिपोर्टमा जनाइएको छ ।
यहाँ गत १२ वर्षमा गत वर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो ।
भारतको केन्द्रीय गृह मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । सो प्रतिवेदनमा सन् २००९ मा २ हजार २५८ जनाको नक्सलवादीसित सम्बन्धित हिंसाका कारण ज्यान गएकोमा त्यसमा गत वर्ष ७७ प्रतिशतले कमी आएको छ ।
गत वर्ष यस हिंसामा परी ५०९ जना मात्र नागरिकको ज्यान गएको पाइएको छ । भारतको केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले संसद्मा बुधबार दिनुभएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।
उहाँले पहिलेका वर्षमा नक्सलवाडीसित सम्बन्धित आन्दोलन भारतका ९६ जिल्लामा रहेकोमा अघिल्लो वर्षसम्म आउँदा यो सङ्ख्या घटेर ४६ जिल्लामा सीमित रहेको पनि जानकारी दिनुभयो । (रासस: सिन्ह्वा)