टोकियो । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
जापानका प्रधानमन्त्री फुमिओ किसिदाले कोरोनाको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
देशव्यापी खोप अभियानअन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उहाँले मङ्गलबार सबैलाई अनुरोध गर्नुभयो । उहाँले वयस्क तथा जेष्ठ नागरिकलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारीसमेत दिनुभयो ।
बालबालिकालाई पहिलो मात्रा खोप लगाउने र वयस्क तथा जेष्ठ नागरिकलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उहाँको भनाइ छ । उहाँले महामारी दिन–प्रतिदिन तीव्र रूपमा फैलिँदै गएकाले गैरआवासीय विदेशीलाई आगामी फेबु्रअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि दिनुभयो ।
जापानमा गत सोमबार मात्रै देशभरि छ हजार ४०० भन्दा बढी नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)