काबुल । तालिबानी शासनसँगै झन्डै ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेका छन् ।
अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले जागिर गुमाएका छन् ।
जीविकोपार्जनका निम्ति अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ । यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चार माध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।
“पहिलेको सरकारको पतनपछि पूर्वीप्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छओटा रेडियो स्टेसन बन्द भएका छन् । तीमध्ये पाँचओटा आर्थिक चुनौतीका कारण रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ’ पूर्वी अफगानिस्तानमा रहेका अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गर्नुभएको छ ।
फाउन्डेसनको निष्कर्षले देखाएको छ, अफगानिस्तानका पत्रकारमध्ये ९१ प्रतिशतले यो पेसा रोजेकोमा सन्तुष्ट छन् भने आठ प्रतिशत मात्रै खुसी छैनन् ।
अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए ।
केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्युजले रिपोर्ट गरेको छ ।
फाउन्डेसनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारको पेसागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।
फाउन्डेसनले अफगान पत्रकारको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको पनि खामा प्रेसले रिपोर्ट गरेको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार सङ्घ (एआइजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेट सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ ।
सर्वेक्षण अनुसार कुल २३१ मिडिया आउटलेट बन्द गर्नुपरेको छ र ६,४०० भन्दा बढी पत्रकारले अगस्ट १५ देखि जागिर गुमाएका छन् । महिला पत्रकार सबैभन्दा बढी मारमा परेका छन् । पाँचमध्ये चारले काम गुमाएका छन् । (रासस/एएनआई)





