नयाँदिल्ली । भारतको मुम्बईमा पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि महाराष्ट्रको मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । भारतको नयाँदिल्ली र मुम्बईमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो ।
भारतको आर्थिक राजधानी मानिने ठुलो सहर मुम्बईमा नयाँ वर्षका कार्यक्रमको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशङ्का गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको हो । रातिमा कफ्र्यु नलगाइने तर पनि मानिस जमघट हुने र समारोह गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।
मुम्बईमा पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरू बढेको पाइएको छ । गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकोमा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएका छन् । (रासस/सिन्ह्वा)