त्रिपोली (लिबिया) । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यू.एन.एच.सी.आर.) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ।
संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार “आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो ।’
ती विस्थापितमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बच्चा रहेका छन् । धेरै शरणार्थी बेचबिखनका सिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुव्र्यवहारबाट बचेका थिए । त्यसैगरी, धेरैलाई हिरासतबाट रिहा गरिएको पनि जनाइएको छ ।
शरणार्थीलाई सम्भव भएसम्म तेस्रो देशमा पुनर्वास, स्वैच्छिक फिर्ता वा रुवान्डामा व्यवस्थापन जस्ता टिकाउ समाधान खोज्न मद्दत गर्ने लक्ष्य राखिएको बताइएको छ ।
‘रुवान्डामा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको देख्दा राहत मिल्छ । हामी यस देशको नेतृत्व र हाम्रा समर्थकलाई उनीहरूले विस्थापितको आशालाई पुनर्जीवित गर्ने प्रयासमा उदार समर्थन गरेकोमा प्रशंसा गर्छौं’ रुवान्डाका लागि यू.एन.एच.सी.आर. का प्रतिनिधि अहमद बाबा फलले भन्नुभएको छ ।
सन् २०१७ देखि ७,४९० शरणार्थीले तेस्रो देशमा पुनर्वास गरेको जनाइएको छ ।
धेरै गैरकानुनी आप्रवासीहरू प्रायः अफ्रिकी, लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा जाने गर्छन् । राजनीतिक अराजकताको कारणले गर्दा यो देश २०११ देखि सङ्कटग्रस्त छ । (रासस–एएनआई/सिन्ह्वा)





