नयाँदिल्ली । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना संक्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना संक्रमितको यो संख्या ५४३ दिनयता कै सव भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
सोही अवधिमा कोरोना संक्रमणको कारण २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये करिब आधा केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयकाअनुसार केरलामा तीन हजार ६८९ संक्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ७५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख १३ हजार ५८४ रहेको छ । यो संख्या कुल संक्रमित भएकामध्येको ०.३३ प्रतिशत मात्रै हो । सक्रिय संक्रमितको संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २०२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या कम हुँदै गएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको सख्या तीन करोड ३९ लाख ४६ हजार ७४९ रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कुल संक्रमितमध्येको ९८.३२ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।
यहाँ हालसम्म ६३ करोड ३४ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परिक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोराृान भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब १७ करोड ६३ लाख ७३ हजार ४९९ डोज खोप लगाइएको छ ।