बेइजिङ । चीनले अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै विरोध गरेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता वू कियानले शुक्रबार अमेरिकी प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको छ तथा पूर्वाग्रहग्रस्त भएको बताउनुभएको हो ।
उहाँका अनुसार प्रतिवेदनले तथाकथित “चिनियाँ सैन्य खतरा” बारे तथ्यहीन टिप्पणी गरेको छ र चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको छ ।
त्यसैगरी, ताइवान र अन्य मुद्दा समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ, जुन विषयलाई चीनले गम्भीर रूपमा लिएको छ ।
वूले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको बताउनुभएको छ ।
‘यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन’ उहाँले भन्नुभयो– ‘संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठुलो स्रोत हो ।’
वूले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अङ्ग भएको पुनः दोहोर्याउनुभयो ।
उहाँले ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले “ताइवान स्वतन्त्रता” खोज्ने विदेशी समर्थनका कारण भएको बताउनुभयो ।
चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पिपुल्स लिबरेसन आर्मीले बनाएको स्टिलको ठुलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वूको भनाइ थियो । (रासस/सिन्हवा)