रोम । विश्वका आर्थिक रूपमा सम्पन्न २० ठुला देशहरू सम्मिलित समूह जी–२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ ।
सम्मेलनमा सहभागी विश्वका नेताहरूले हालैका दिनमा कोभिड–१९ महामारीले उत्पन्न परिस्थितिसँग मिलेर सामना गर्ने प्रतिबद्धता गरेका थिए । यस महामारीका कारण विश्वमा विविध खाले समस्या उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरूले निकालेका थिए ।
उनीहरूले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्या उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन् । कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीलाई मिलेर सामना गर्न विश्वका नेताहरू सहमत भएका हुन् ।
उनीहरूले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन् । हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरूले जोड दिएका हुन् । (रासस/सिन्ह्वा)