टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।
जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किसिदाको सत्तारूढ गठबन्धनले संसद्को तल्लो सदनमा बहुमत हासिल गरेको हो ।
सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किसिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको छ । सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ ।
संसद्को तल्लो सदनमा ४६५ स्थान रहेका छन् । प्रधानमन्त्री किसिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् ।
सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताका कारण यस गठबन्धनले स्पष्ट जित हासिल गर्न नसक्ने बताइएको थियो ।
एलडिपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले तल्लो सदनमा एलडिपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताउनुभएको थियो । (रासस/सिन्ह्वा)