खार्तुम । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौँ नेताहरूलाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
सोमबार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भने पनि उहाँले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उहाँलाई अहिले सेनाले अज्ञातस्थलमा राखेको छ ।
नागरिक अगुवासमेत सम्मिलित सुडानी सरकार र सेनाका बिच पछिल्लो केही समयदेखि सम्बन्धमा तीक्तता आएको थियो । सत्ताकब्जा गरेको सेनाले देशभरि इन्टरनेटलगायतका सञ्चार सेवा अवरुद्ध गरेको छ । त्यसैगरीे राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुल बन्द गरिएका छन् ।
यता, सेनाको सो कदमको विरुद्धमा प्रदर्शनसमेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीलाई सेनाले गिरफ्तार गरेको छ ।
देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारी भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्ने लगायतका प्रतिरोधात्मक कदम पनि चालेको छ ।
प्रदर्शनकारीले सेनाले सैन्य कू गरेको बताएका छन् । उनीहरूले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् ।
तत्कालीन राष्ट्रपति बसिरको विरोधमा सङ्गठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ । तत्कालीन सरकारले मूल्यवृद्धि गरेपछि त्यसको विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको सङ्क्रमण कालीन सरकारको रूपमा गठन भएको थियो ।
सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो ।
नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ । संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोहप्रति आपत्ति जनाएको छ ।
सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गर्नुभएको छ । (रासस/एएफपी)