अङ्कारा । विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने गरी गरिएको टर्की निर्णयको विरोध भएको छ ।
राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गर्नुभएको थियो । यहाँको सरकारको सो कदमको ती देशले विरोध गरेका छन् ।
राष्ट्रपति एर्दोगानको शुक्रबारको आदेशपछि टर्कीले ती देशका राजदूतलाई आफ्नो देशले अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्ने छ ।
यहाँको सरकारले राज्यद्रोहको आरोपमा चार वर्षदेखि थुनामा राखका एक जना अभियन्ता ओजमुन कुभालालाई ती देशका राजदूतले एक वक्तव्य प्रकाशन गरेर रिहा गर्न आग्रह गरेका थिए । राजदूतहरूको यस्तो वक्तव्यको टर्किस सरकारले विरोध गरेको थियो । उक्त वक्तव्यपछि नै उक्त कदम चालिएको हो ।
यो अवस्था भनेको राजदूतहरूको कूटनीतिक हैसियतलाई खारेज गर्नुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो ।
अघिल्लो साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे र स्विडेनका राजदूतले कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी गरेका थिए । (रासस/सिन्ह्वा)