काबुल । अफगानिस्तानको सत्तारूढ शक्ति तालिबानले पत्रकारहरूमाथि आक्रमण गरेको छ ।
राजधानी काबुलमा महिला अधिकारकर्मीले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहिबार कैयौँ पत्रकारमाथि आक्रमण गरेको हो ।
शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रङ्गिन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नू भन्ने नारा लगाएका थिए ।
“हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरिबी, भोकले सताएको छ” भन्ने लेखिएको प्लेकार्ड ती महिलाहरूले बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब एक घण्टा ३० मिनेटसम्म स्वतन्त्र रूपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ ।
तालिबान लडाकुले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेको बताइएको छ ।
प्रदर्शनकारी आयोजकमध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन्– महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए । तालिबानले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् ।
केटीहरूको विद्यालय जाने अधिकारसमेत तालिबानले खोसेको उनले बताएकी छिन् । (रासस/एएफपी)