सोल । उत्तर कोरियाले मङ्गलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । त्यस्तै, उसले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ ।
दक्षिण कोरियाली सैन्य अधिकारीले मङ्गलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।
त्यसका साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको मङ्गलबार बताएका थिए ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र प्रहार गर्ने र परीक्षण गर्ने गर्दै आएको छ । केही समय अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो । यसपटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ । (रासस/सिन्ह्वा)