न्युयोर्क । विश्वका ७५ देशले कोरोना विरुद्ध खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।
संयुक्त राष्ट्र सङ्घको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् ।
महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना महामारीको कुनै सीमा नरहेको र विश्वका देशमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरूले सो आवाज उठाएका हुन् ।
उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना विरुद्धको खोप उत्पादन गर्ने ठुला देशमध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्र सङ्घमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए ।
सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिले कोरोनालाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रूपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए । (रासस/सिन्ह्वा)