देवेन थापा, अध्यक्ष, साइप्रस नेपाली एकता समाज
० वैदेशिक रोजगारीका लागि साइप्रस नै किन रोज्नुभयो ?
– म उमेरले ३५ वर्ष पुगेँ । आज हजुरसँग वार्तालाप गर्दैगर्दाको दिनसम्म ३० देख ४० बर्ष पुगेका अधिकतर श्रमजीवी नेपाली युवायुवतीहरू तत्कालीन नेपाली काङ्ग्रेसको सरकारबाट ल्याइएको नवउदारवादी नीति, जसले नेपाल सरकारको स्वामित्व रहेका कलकारखाना निजीकरण गर्दै लग्यो, त्यसका साथै जनयुद्ध भनिने कथित सशस्त्र द्वन्द्वले त्यो पिँढीलाई प्रत्यक्ष क्रान्ति र परिवर्तनको नाममा झनै अशिक्षित बनायो । त्यही पिँढी आज राज्यको तर्फबाट स्वरोजगारको व्यवस्था हुन गर्न नसकेपछि ८० लाखको हारहारीमा वैदेशिक रोजगार र अवसरको खोजीमा विश्वका विभिन्न मुलुकमा भौतारिरहेका छन् । हो, तीमध्य म पनि एक हुँ ।
० साइप्रस पुग्न के कस्ता प्रक्रिया छन् ? त्यो प्रक्रियाबाट के शिक्षा लिनुभयो ?
– साइप्रस पुग्न पनि अन्य मुलुकमा जान चाहिने दस्तावेज जस्तै दस्तावेज चाहिन्छन् तर मूल समस्या पैसा नै हो । नेपालबाट साइप्रस पुग्न न्यूनतम सातआठ लाखदेखि १० लाख नेपाली रुपियाँसम्म खर्च गर्नुपर्दछ । वास्तवमा जहाँ पुग्न लगानी नै चाहिँदैन तर पनि केही सीमित नेपालीबाहेक अधिकांश नेपाली एजेन्टमार्फत नै पैसा खर्च गरेर जानुपर्ने बाध्यता छ । कतिपय एजेन्टले साइप्रस छिटै सेन्जेन सदस्यको मान्यता प्राप्त गर्ने र अन्य सबै युरोपीय देशमा झैँ सजिलै जान सकिने ढोका खुल्ने भन्दै लालच देखाउने गरेको पाइन्छ ।
जहाँसम्म कस्तो शिक्षा सिक्नुभयो भन्ने कुरा रह्यो, नेपालमा नेपाल सरकारको तर्फबाट केही रोजगारको व्यवस्था छैन तर पनि वैदेशिक रोजगारमा गएर सिकेका सिपलाई आवश्यक र अनुकूल नागरिक स्तरबाटै अभ्यासमा लिएर स्वदेश मैं स्वरोजगारको विकास गर्नुपर्दछ भन्ने महसुस गरेको छु ।
० वैदेशिक रोजगारीमा जाँदा नेपालीले अपनाउनुपर्ने सावधानी के के हुन् भन्ने ठान्नुहुन्छ ?
– वैदेशिक रोजगारीमा जाँदा सामान्यतः बाहिरी आवरणमा देखिए जस्तो सहज र सभ्य सुन्दर छैन । प्रवासी जीवन वा जीविका अत्यन्त दयनीय वा पीडादायी छ । नेपालीहरूले वैदेशिक रोजगारीका लागि जाँदा नेपालबाट नोकरीका लागि आवेदन दिएर सम्बन्धित देशमा नपुग्दासम्म नेपाली एजेन्ट र दलालबाट कसरी ठगिनबाट बच्ने ? सो देशमा पुगेपछि स्थानीय चोरठगसँग कसरी बच्ने ? काम गर्दा रोजगारदातासँग कसरी मिलेर जाने ? भाषा, धर्मबारे जानकारी—यी सबै विषयमा ध्यान दिन, बुझ्न र सावधानी रहनु आवश्यक हुन्छ ।
० साइप्रस कस्तो खालको देश हो ? त्यसले अरूलाई रोजगारी उपलब्ध गराउन कसरी सक्यो ?
– साइप्रस भूमध्यसागरको तेश्रो सबैभन्दा ठुलो द्वीपसँगै लोकप्रिय पर्यटकीय स्थल भनेर चिनिने देश हो, जसको आयश्रोत विदेशी पर्यटक र विदेशी विद्यार्थीलाई शिक्षा दिने हो ।
कृषि क्षेत्रमा पनि त्यो देशले खासै नयाँ प्रविधिबाट उत्पादन गरेको पाइँदैन । साइप्रसमा आलु, प्याज र केही साना उद्यमीको तर्फबाट भैँसी, गाई, भेडा र कुखुरा फार्म पाइन्छन् । खाद्यान्न केही छोडेर सबै आयात गर्छन् उनीहरूले, निर्यात केही छैन ।
साइप्रस १९५९ सम्म ब्रिटिश उपनिवेश थियो । १९६० बाट स्वतन्त्र गणराज्य भएको भनिए पनि ३१ अप्रैल २००४ सम्म ब्रिटिसबाटै शासित भएको पाइन्छ । १ मे २००४ देखि युरोपीय सङ्घको सदस्य भएको पाइन्छ ।
साइप्रसको उत्तरी सानो भाग टर्कीले अतिक्रमण गरेको छ । साइप्रसमा चीन, रुस र केही भारतीयले व्यवसाय गरेको पाइन्छ तर पनि उसले घरेलु कामदारको रूपमा भारत, फिलिपिन्स, भियतनाम, नेपाल, श्रीलङ्का र केही अंशमा बङ्गलादेशका महिलालाई रोजगार दिएको छ । केही वर्षयता होटेल, रेस्टुरेन्ट, कृषि, कुखुरा फार्महरूमा नेपाली दाजुभाइहरू पनि पुगेका छन् ।
समग्रमा साइप्रस त्यति सम्पन्न देशमा त पर्दैन तर पनि उसले कैयौँ विदेशीलाई रोजगार दिन सकेको छ । यसको मूल कारण राज्यबाट खेलिने भूमिका जनपक्षीय भएर हुन सक्छ ।
० साइप्रसस्थित नेपालीको आधारभूत समस्या के कस्ता छन् ?
– साइप्रसस्थित नेपालीको अवस्था अत्यन्त दयनीय र कहालीलाग्दो नै छ । यस सम्बन्धमा हाम्रो सङ्गठनको तर्फबाट हामीहरूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्रसमेत बुझाएका छौँ । त्यसमा हामीले केही विस्तृत रूपमा आफ्नो समस्याबारे उल्लेख गरेका छौँ ।
० साइप्रस नेपाली एकता समाजले यतिखेर के गरिएको छ ?
– साइप्रस नेपाली एकता समाजले स्थापना भएयता यसले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । जनचेतनामूलक भूमिका खेल्दै सम्बन्धित निकायलाई समय, परिस्थितिअनुसार ज्ञापनपत्र दिने, बेलाबखत भेटघाट कार्यक्रम पनि आयोजना गर्ने गरेको छ । हाम्रो सङ्गठन विशुद्ध सामाजिक सङ्गठन भए पनि विस्तारै राजनैतिक दृष्टिकोणमा प्रष्टता अपनाउँदै अगाडि बढ्दै छ ।
० देशको अहिलेको राजनैतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– नेपाली जनताले करिब सात दशक लामो सङ्घर्ष गरेर प्राप्त गरेको गणतन्त्र, संविधान र धर्म निरपेक्षतालाई एकातिर विदेशी शक्तिहरूले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने कोसिस गरिरहेका छन् भने अर्कोतर्फ प्रतिगामी तत्त्वहरूले ध्वस्त पार्न चाहन्छन् । त्यसैले प्रतिगामी तत्त्वहरूको उक्त गतिविधिलाई पूर्व प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर सहयोग पु¥याएका थिए तर देशका लोकतान्त्रिक शक्तिहरूमाझको सहकार्यले प्रतिगामी शक्तिको उक्त कदमलाई रोक्नमा सफलता मिलेको छ । यसको अर्थ प्रतिगमन देशबाट सदाको लागि पराजय भयो भनेर अहिल्यै सोच्नु कमजोरी हुने छ ।
देशमा प्रतिगामी शक्तिहरूले आफ्नो अनुकूल परिस्थितिलाई मूल्याङ्कन गरेर नै कार्ययोजना तय गरिरहेका छन् । त्यसका लागि कथित कम्युनिस्टहरू नै बढी बढी उपयोग भइरहेका छन् । त्यस्तै नकारात्मक हिसाबले मधेसवादी दलहरूको आपसी कलहले देशको लोकतन्त्रलाई मजबुत बनाउन सहायता पुगेको छ । केही जाति तथा वर्गहरूको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर उनीहरूको माग सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।
त्यसै गरी देशको एकतिहाइ जनसङ्ख्या प्रवासमा रहेको छ । उनीहरूलाई मताधिकारको व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।
० वैदेशिक रोजगारीबाट फर्केर नेपालमै बन्ने सम्भावना कत्ति छ ? त्यसका सामु के कस्ता बाधा छन् ?
– वैदेशिक रोजगारीमा गएका नेपालीहरूले कुनै न कुनै सेक्टरमा काम गर्ने अवसर पाएका हुन्छन् । साइप्रसको हकमा यहाँ अन्य क्षेत्रमा खासै सिप आर्जिएको जस्तो नदेखिए पनि होटल, रेस्टुरेन्टबाट भने थुप्रै सम्भावना छन् । नेपालमा आएर आफ्ना सिप प्रयोग गरेर नयाँ प्रविधि, नयाँ प्रयोगसँगै स्वच्छता र कम लगानीमा हस्पिट्यालिटी सेक्टरको विकास गर्न सकिन्थ्यो । कैयौँ नेपालीहरू खाडी मुलुकमा कृषि प्रविधि र व्यवस्था राम्रो भएको र अन्य सिप आर्जन गर्ने मुलुकमा गएका छन् । उनीहरूले पनि आफूले सिकेका सिप प्रयोग गरेर नेपालमै स्वरोजगारीको विकास गर्न सकिन्छ ।
तर नेपालमा यी सिपको प्रयोग गर्न सक्ने सहज वातावरण छैन । हरेक सेक्टरमा सिन्डिरेट छ । वस्तुको बजारीकरण छैन । भण्डारणका लागि उचित व्यवस्थापन छैन । ट्रान्सपोर्टको लागि गुणस्तरीय सडक छैन । धेरै वस्तुहरूको बजारमूल्य छैन । देशको उत्पादनलाई निर्यात गर्नका लागि राज्यको कुनै पोलिसी नै छैन । देशमै स्वरोजगारीका लागि यी सबै अति आवश्यक तत्त्व हुन्, जसलाई राज्यले उपयुक्त कदम चालेर व्यवस्था मिलाउनुपर्दछ ।
० अन्तमा युगदर्शनमार्फत केही आह्वान गर्न चाहानुहुन्छ ?
– जुनकुनै आस्था, विचार, दर्शन, सिद्धान्त, पार्टी वा सङ्गठनसँग नजिक भए पनि सबै प्रवासी श्रमजीवी नेपालीको दुःखकष्ट एकै खाले हुन्छन् । त्यसलाई न्यूनीकरण गर्दै स्वदेशमै स्वरोजगारीको विकास गर्न सम्पूर्ण श्रमजीवी प्रवासी नेपालीले आआफ्नो तर्फबाट रचनात्मक काम, खबरदारी, वैदेशिक समस्या समाधानका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष माग, ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउन जनचेतनामूलक कार्यक्रम गर्न सम्पूर्ण सरोकारवालालाई म आह्वान गर्न चाहान्छु ।
त्यसका साथै मेरा आफ्ना विचार र साइप्रसस्थित नेपालीको अवस्थालाई प्रष्ट्याउने अवसर दिनुभएकोमा युगदर्शनलाई मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु ।
प्रस्तुति : प्रकाश थापामगर