इस्लामावाद । अफगानिस्तानलाई सहयोग गर्ने गरी सबैलाई परिचालन गर्न पाकिस्तानले संयुक्त राष्ट्र सङ्घसित माग गरेको छ ।
राष्ट्र सङ्घको छयहत्तरौँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २०७८ असोज ९ गते यस्तो माग गर्नुभएको हो ।
अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भए पनि धेरै देशले सहयोग नगरेकाले राष्ट्र सङ्घले सबैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिनुभएको थियो ।
प्रधानमन्त्री खानले विषेश गरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
‘अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु’ प्रधानमन्त्री खानले भन्नुभयो ।
मानवीय सहायता उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउने गरी नराम्रो क्षति हुने चेतावनीसमेत उहाँले दिनुभयो ।
उहाँको सम्बोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुनेमा खानले जोड दिनुभएको उल्लेख गरिएको छ ।
‘हामीले उनीहरूलाई सहयोग गर्न हेलचेक्रयाइँ गर्यौँ भने अहिले नै आधा मानिस गरिबीको रेखामुनि छन्, अर्को वर्षसम्ममा ९० प्रतिशत मानिस गरिब हुन्छन्’ प्रधानमन्त्री खानले भन्नुभयो ।
अहिले पनि भोकभरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमा आफूलाई दुखी र आश्चर्यचकित बनाएको उहाँको भनाइ छ ।
अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशको रूपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभई विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।
‘सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो । अब पनि त्यस्तो गल्ती नहोस्; शान्तिपूर्ण रूपमा समस्याको समाधान खोजौँ; सङ्कट निवारण गरौँ; अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ’ उहाँले भन्नुभयो । (रासस/सिन्हवा)