बेइजिङ । चीनले अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेको छ ।
चिनियाँ स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले बिहिबार सो प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको हो ।
मन्त्री वाङले (जी–२०) समूहका विदेशमन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएको र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो– यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन ।
मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभयो ।
उहाँले जी–२० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन तथा त्यसका लागि वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्नमा जोड दिनुभयो । (रासस/सिन्हवा)