मनिला । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सिस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
Advertisement
आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक रूपमा गर्नुभएको हो ।
उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्याली निकाल्नुभएको थियो ।
नगरपालिकाभित्रको अति गरिब क्षेत्रमा निकालिएको र्यालीपछि आयोजित घोषणासभामा उहाँले आफू विजयी हुने दाबी गर्नुभयो । लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सबैको साथले आफू विजयी हुने र सरकारलाई पनि सबै मिलेर सफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उहाँ तेस्रो नेता हुनुहुन्छ । यसअघि सिनेटर मन्नी पाक्वियो र पान्फिलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । (रासस/सिन्ह्वा)