काबुल । अफगानिस्तानबाट यस वर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीको भएको सरकारी अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् ।
यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल छ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएकामध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीले जनाएका छन् ।
देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरू विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाको सङ्ख्यामा पनि एकाएक वृद्धि भएको पाइएको छ । देशबाहिर विस्थापित भएकामध्ये विदेशी नागरिकको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
विस्थापित भएकामध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएको पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र सङ्कटमा परेकालाई सहयोग गर्न संयुक्त राष्ट्र सङ्घले सबैलाई आह्वान पनि गरेको छ । (रासस/सिन्ह्वा)





