जेनेभा । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरूपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ ।
संयुक्त राष्ट्र सङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरूप भन्दै रकम उपलब्ध गराउने बताएका थिए ।
तत्कालका लागि कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोगस्वरूप उपलब्ध गराउने ती देशहरूले जनाएका थिए । संयुक्त राष्ट्र सङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।
संयुक्त राष्ट्र सङ्घका तर्फबाट महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले सो रकम उपलब्ध गराउन सेप्टेम्बर १४, २०२१ का दिन सो आग्रह गर्नुभएको हो ।
अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको महासचिव गुटर्रेसले बताउनुभएको थियो । सोमबार सम्पन्न सम्मेलनमा महासचिव गुटर्रेसले करिब ६० करोड अमेरिकी डलर तत्कालै आवश्यकता रहेको बताउनुभयो । उहाँले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । (रासस/सिन्ह्वा)





