टोकियो । जापानका प्रधानमन्त्री योसिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहनुहुने छ ।
नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसक्नुभएका सुगाले उत्तराधिकारी बन्न आकाङ्क्षीमध्ये कसैको पक्षमा नखुल्ने हुनुभएको हो ।
जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पार्नुभयो । तपाईंको समर्थन कुन उम्मेदवारलाई छ भन्ने पत्रकारको प्रश्नमा उत्तर दिँदै प्रधानमन्त्री सुगाले भन्नुभयो– ‘निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरूमध्ये मैले कुनै उम्मेदवारको पक्षपोषण गरेको छैन ।’
सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।
उहाँले पूर्वविदेश मामिला र पूर्व रक्षामन्त्री तारो कोनोले पार्टी अध्यक्षका लागि उम्मेदवार घोषणा गर्न लागेकै दिन आफू कसैको पक्षमा नउभिने स्पष्ट पार्नुभएको हो । उहाँले अघिल्लो हप्ता पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो । सरकारमा रहेर कोरोना महामारी विरुद्ध प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि उहाँले प्रधानमन्त्रीको जिम्मेवारीसमेत त्याग्ने गरी पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो ।
पार्टी नेतृत्वका लागि उम्मेदवारी नदिने भएपछि नयाँ आउने पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री पदको जिम्मेवारी दिइने भएको छ । जापानमा प्रायः सत्तारूढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुने गरेको देखिन्छ ।
प्रधानमन्त्री सुगा एक वर्षअगाडि तत्कालीन प्रधानमन्त्री सिन्जो आवेले आकस्मिक रूपमा राजीनामा दिएपछि प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । जापानमा लामो समय प्रधानमन्त्री हुनुभएका आबेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका सुगा भने एक वर्षमै बिदा हुनुहुने भएको छ । उहाँपछि पूर्व विदेशमन्त्री तारो कोनो र पूर्व रक्षामन्त्री सिगेरु इसिबामध्ये एक जना प्रधानमन्त्री हुने अनुमान गरिएको छ । पार्टी अध्यक्षमा उहाँहरूमध्ये एक जना निर्वाचन हुने सम्भावना रहेकाले प्रधानमन्त्री पनि उहाँहरूमध्येकै एक जना हुने अनुमान गरिएको हो ।