हेमराज भट्ट, अध्यक्ष, अखिल (छैठौं) सुदूरपश्चिम प्रदेश समिति
सरकारले मित्रराष्ट्रविरुद्ध गतिविधि भएको भन्दै त्यस्ता गतिविधि नगर्न हालै विज्ञप्ति जारी गरेपछि त्यसले राष्ट्रिय राजनीति तरंगित भएको छ । खासगरी दार्चुला तुइन प्रकरण र एमसीसीविरुद्ध चलिरहेको आन्दोलनलाई लक्षित गरी सरकारले आन्दोलनकारीलाई धम्की दिएको छ । दार्चुला प्रकरणविरुद्ध सशक्त आवाज उठाइरहेको अनेरास्ववियु (छैठौं) ले हालै कैलालीमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाएको थियो । त्यस्तै, एमसीसीविरुद्ध पनि अखिल (छैठौं) अहिले एकल र संयुक्त आन्दोलन गरिरहेको छ । यसबाहेक अखिल (छैठौं) आफ्नो २२औँ राष्ट्रिय सम्मेलनको तयारीसमेत गरिरहेको छ ।
हामीले एमसीसी र दार्चुला प्रकरणविरुद्धको आन्दोलन, अखिल (छैठौं) को राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा अखिल (छैठौं) का केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हेमराज भट्टसँग संक्षेपमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश– (सम्पादक) ।
तपाईँहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला किन जलाउनुभएको ?
भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकमाथि एक पछि अर्को गर्दै हस्तक्षेप गरिरहेको छ । गएको साउन १५ गते दार्चुलाका जयसिंह धामीलाई महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता बनायो । उनको शव खोज्नसमेत भारतले असहयोग गरेको थियो । त्यसपछि नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडाएर हाम्रो सार्वभौमिकतालाई चुनौती दिने काम गरेको छ ।
कालापानीसहित दक्षिणी सिमानामा समेत हजारौं हेक्टर नेपाली भूमि अतिक्रमण गरिरहेको भारतले नेपालको सार्वभौमिकता र अखण्डताविरुद्ध धावा बोलिरहँदा कुनै पनि राष्ट्रप्रेमि नेपाली नागरिक चुप लागेर बस्न सक्दैन । भारतले नेपालमाथिको सबै हस्तक्षेप बन्द गर्नुपर्छ । जयसिंह धामीले न्याय पाउनुपर्छ । उनलाई बेपत्ता बनाउने एसएसबीमाथि कारबाही गर्नुपर्छ । त्यो अवस्था नहुँदासम्म हामी विरोध प्रदर्शन जारी राख्छौँ ।
सरकारले त मोदीको पुत्ला जलाउनेमाथि कारबाही गर्ने धम्की दिएको छ नि ?
सरकारी धम्कीबाट अखिल (छैठौं) डराउँदैन । हाम्रो परम्परा र इतिहासमा कसैको धम्कीको अगाडि डराएर चुप लागेको उदाहरण छैन । सरकारले धम्की दियो भन्दैमा अखिल (छैठौं) हातमा दही जमाएर बस्दैन । जयसिंह धामीलाई भारतीय एसएसबीले बेपत्ता बनाउँदा चुप लागेर बस्ने सरकारले उनको न्यायको लागि आवाज उठाउँदा धम्की दिन मिल्छ ? यो त साम्राज्यवादको गुलामी हो । यसको डटेर प्रतिकार गर्छौं ।
तपाईँहरु त एमसीसी विरुद्ध पनि आन्दोलन गरिरहनुभएको छ, किन ?
एमसीसी नेपालको सार्वभौमिकतामाथि अमेरिकी हस्तक्षेप निम्त्याउने परियोजना हो भन्ने स्पष्ट भइसकेको छ । त्यसको खारेजीका लागि देशभर आन्दोलन चलिरहेको छ । हामीले पनि एमसीसीविरुद्ध हाम्रो पार्टी (राष्ट्रिय जनमोर्चा) ले गरिरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएर प्रत्यक्ष सहभागी भएका छौं । यसबाहेक हामीले एकल र संयुक्त रुपमा पनि एमसीसीविरुद्ध आन्दोलन गरिरहेका छौं । हिजो (२१ भदौ) मात्रै हाम्रो संगठनसहित अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त विज्ञप्ति पनि आएको छ । यसविरुद्धको आन्दोलनलाई हामी अझै सशक्त बनाएर लैजान्छौँ ।
राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्ने विषयमा विभिन्न राजनीतिक दल, संघ संस्था तथा आम जनताले आवाज उठाइरहेका छन् । सुदूरपश्चिममा पनि यसविरुद्ध ठूलो जनमत छ , त्यो जनमतलाई हामी आन्दोलित पार्छौं । राष्ट्रहित विपरित एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुनु हुँदैन । यसलाई खारेज गर्न जुनसुकै मूल्य चुकाउन हामी तयार छौँ ।
अखिल (छैठौं) को राष्ट्रिय सम्मेलनको सुदूरपश्चिममा तयारी कस्तो छ ?
आउँदो असोज १४ र १५ गते बुटवलमा हाम्रो संगठनको २२औँ राष्ट्रिय सम्मेलन हुँदै छ । राष्ट्रिय सम्मेलनको तयारीमा अहिले देशभरी नै साथीहरू जुटिरहनु भएको छ । केही दिन अगाडि भएको केन्द्रीय समितिको भर्चुअल मिटिङले त्यसबारे ठोस योजना र जिम्मेवारी पनि तोकेको छ । त्यही अनुसार अहिले हामी फिल्डमा खटिरहेका छौँ ।
अहिले खासगरी हामी संगठन निर्माणमै खटिरहेका छौँ । सुदूरपश्चिम प्रदेशको भेला केही दिन अघि सम्पन्न भएको छ । त्यसले नयाँ समिति बनाएर संगठन निर्माण गरिरहेको छ । त्यस्तै, कैलाली र कञ्चनपुरमा पनि भेला गरेर नयाँ समिति चयन भएका छन् । डडेल्धुरामा केही समयअघि मात्रै सम्मेलन भएको थियो । सबै जिल्ला समितिहरु आ–आफ्नो ठाउँमा सक्रिय छन् ।
आन्दोलन र संगठनको कामबीच कसरी तालमेल मिलाउनु भएको छ ?
अखिल (छैठौं) आन्दोलनकै बिचबाट जन्मिएको संगठन हो । हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँगै विद्यार्थी हक, हितका विषयमा आन्दोलन अघि बढाउँदै र संगठन निर्माण गर्दै अघि बढिरहेका छौँ । अहिले पनि भारतीय साम्राज्यवादी हस्तक्षेप, एमसीसी जस्ता विषयमा जुलुश, सभा, पुत्ला दहन लगायतका कार्यक्रम गर्दैछौँ भने सँगसँगै राष्ट्रिय सम्मेलनको तयारी पनि गरिरहेका छौंँ । त्यसक्रममा संगठन निर्माणलाई प्राथमिकता दिएका छौँ ।
सुदूरपश्चिममा त अखिल (छैठौं) का नाममा केही व्यक्तिहरुले बेग्लै गतिविधि गरिरहेका छन् नि ?
हाम्रो संगठनको नीति, विधि र सिद्धान्तबाट च्युत भएका केही व्यक्तिहरुले संगठनविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेका छन्, तर त्यो क्षणिक हो । त्यसले हाम्रो संगठनलाई केही फरक पर्दैन । हामीले उनीहरुलाई कुनै महत्व दिएका पनि छैनौँ । संगठन आफ्नो गतिमा अघि बढ्छ, संगठनविरोधी तत्वहरु केही समयपछि आफैँ सकिएर जान्छन् ।
यो पनि :
अखिल (छैठौं) सुदूरपश्चिमको भेला सम्पन्न, अध्यक्षमा हेमराज भट्ट
अखिल (छैठौं) कैलालीद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
मोदीको पुत्ला जलाउनेलाई कारबाही गर्ने सरकारको चेतावनी
एमसीसी अघि बढाए प्रतिकार गर्ने तीन विद्यार्थी संगठनको चेतावनी