काबुल । अफगानिस्तानको पन्जसिर प्रान्त पनि तलिबान विद्रोहीले कब्जामा लिइएको घोषणा गरेका छन् ।
देशका कुल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरूले पन्जसिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएको छ ।
तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीका बिचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीले नै पन्जसिरमा जीत हासिल गरेका हुन् ।
तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पन्जसिरमा आफूहरूको जीत भएको र प्रान्त नै आफूको नियन्त्रणमा आइसकेको दाबी गर्नुभयो ।
‘अफगानिस्तानका सबै भूभाग कब्जा गर्नेक्रममा सबैभन्दा अन्त्यमा पन्जसिर प्रान्त पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ’ प्रवक्ता मुजाहिदले भन्नुभयो ।
आफूहरूको सत्तालाई तालिबान विद्रोहीले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन । पन्जसिर पनि अब यहीमार्फत सञ्चालिन हुने भएको छ । विद्रोही र तत्कालीन सत्तापक्षका बिचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरू कैयौँ घाइते पनि भएको विवरण सार्वजनिक भएका छन् ।
पन्जसिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ । भिडन्तका क्रममा अरू कैयाँैको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन ।
काबुलको उत्तरमा पर्ने पन्जसिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो भने यसलाई तालिबान विद्रोहीहरूले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन् ।
पहाडले छेकिएको उक्त प्रान्त परम्परागतरूपमा नै तालिबान विरोधी गढ मानिन्छ । डेढ लाखदेखि दुई लाख मानिसको बसोबास पन्जसिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिबान बलियो गढ बनाएको हो ।
बहुमूल्य धातुका खानी, जलविद्युत् बाँध र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीले कब्जामा लिन नसकेको बताइन्छ । (रासस/सिन्हवा)





