काबुल । संयुक्त राष्ट्र सङ्घले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएको छ । मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाइएको हो ।
महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई आइतबार संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाउनुभएको हो । उहाँले काबुलमा रहँदा तालिबानका नेताहरूसँग छलफल र परामर्श गर्नुहुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आउनुभएको र उहाँले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिनुभएको छ ।
उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहायताका विषयमा तालिबान नेताहरूसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उपमहासचिव ग्रिफिथले यहाँका तालिबान अधिकारीहरूले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
देशमा मानवीय सहायताको वितरणजस्तो संवेदनशील कार्यमा महिलाहरूको ठुलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उहाँले तालिबान नेताहरूलाई आग्रह गर्नुभएको थियो । सो अवसरमा तालिबानका नेताहरूले मानवीय सहायता वितरणका साथै अरू पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आश्वासन दिएका थिए ।
उनीहरूले मानवीय सहायता वितरणमात्र नभएर अरू पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबान सजग रहेको बताएका थिए । (रासस/सिन्हवा)