वासिङटन । वासिङटन डी.सी. मा भएको गोलीकाण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तर पश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।
डी.सी. प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ– ‘आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।’
डी.सी. प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार संदिग्ध एक्कासि गाडीबाट बाहिर निस्किए र शनिबार राती मानिसको भिडमा अन्धाधुन्द गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतक सबै वयस्क छन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ । (रासस/एएनआई)