क्वालालम्पुर । मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो । उहाँलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि उहाँले राजीनामा दिनुपरेको थियो ।
उहाँले राजीनामा दिएपछि राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरूलाई आह्वान गर्नुभएको थियो । त्यसपछि विभिन्न दलको समर्थनमा इजमेल साब्री याकोबले दाबी पेस गर्नुभएको थियो । उहाँलाई राजाले केही दिनअगाडि प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोना महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्री सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
‘मेरा नयाँ सहकर्मीहरूले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सबै मन्त्रीहरूले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुने छ’ उहाँले भन्नुभयो ।
कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ । उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गर्नुभयो ।