मेरिडा । मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीले बिहिबार जानकारी दिएका छन् । उनीहरूका अनुसार बाढीपहिरोका कारण अरू १७ जना अझै पनि बेपत्ता भएका छन् ।
वर्षाले गर्दा देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रको रूपमा लिइएको छ । बाढीपहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिनुभयो ।
राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गदैै उहाँले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताउनुभयो । उहाँले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढीपहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गर्नुभयो ।
थप बाढीपहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उहाँले उद्धारकार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिनुभयो ।
बाढीपहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन् । (रासस/एएफपी)