बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अफगानिस्तानको विषयलाई लिएर फोनवार्ता भएको छ ।
वार्ताका क्रममा उहाँहरूले दुई देशबिचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरू विभिन्न आन्तरिक मामिलामा छलफल गर्नुभएको थियो ।
फोनवार्तामा चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताउनुभएको थियो । साथै उहाँले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मक रूपमा सहयोग गर्ने बताउनुभएको थियो । यसका लागि रुससहित विभिन्न देशलगायत अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उहाँको भनाइ थियो ।
रुसी राष्ट्रपति पुटिनले अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको बताउनुभएको थियो ।
उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य यही अगस्ट ३१ सम्म सक्ने बताउनुभएको छ । अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगस्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उहाँले बुधबार पनि दोहो¥याउनुभएको हो । (रासस/सिन्ह्वा)