काबुल । अफगानिस्तानमा तालिबान समूहले नयाँ सरकार गठनको बारेमा छलफल गरिरहेको छ ।
तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेपछि यस्तो छलफलले तीव्रता पाएको मानिँदै छ ।
अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चार माध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेको जनाएका छन् ।
गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्नेबारेमा निकै चासोपूर्ण रूपमा हेरेका छन् । उता, तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने कोसिसमा रहेको छ ।
तालिबानको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुन सकेको छैन । यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का व्यक्त भइआएको छ । यसैकारणले पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबान लागिपरेका बताइएको छ । यतिखेर तालिबानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर सङ्कटको व्यवस्थापन गरिरहेको छ ।
यता, बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्र सङ्घको फरार आतङ्कवादीको सूचीमा पनि रहेको छ ।
त्यस्तै, अघिल्लो हप्ता अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिबान नेता स्वदेश फर्किन थालेका छन् । तालिबानका कतिपय नेता कतारमा रहेका बताइएको थियो । उनीहरू पनि अहिले स्वदेश फर्किरहेका छन् ।
हाल तालिबानका चार संस्थापक नेता रहेको बताइन्छ । तीमध्येका एक जना बरादर रहेका र उनी गत शनिबार पहिला कान्दहार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएका बताइएको थियो ।
अफगानिस्तानको कान्दाहार सहरमा तालिबान धेरै रहेका छन् । तालिबानले कान्दाहारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन् । (रासस/सिन्ह्वा)