काबुल । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भिड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको छ ।
यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठुलो भिड छ ।
अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकैपटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठुलो भिड लाग्ने गरेको छ । गत हप्तादेखि काबुलको अन्तर्राष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबिच चलिरहेको बताइएको छ ।
गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठुलो सङ्ख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् ।
काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् ।
यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दा सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो । (रासस/एएफपी)