वासिङटन । अफगानिस्तानबाट अमेरिकाले आइतबार एकैदिन १७ सय अमेरिकीलाई उद्धार गरेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कुल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् ।
उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानको पनि प्रयोग गर्न लागेको छ ।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौँ मानिस त्यहाँबाट भाग्न खोजिरहेका छन् । अफगानिस्तानबाट बाहिरिनका लागि हजारौँ मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरूलाई तत्काल उद्धार गर्नुपर्ने खाँचो देखिएको छ ।
यता, अफगानिस्तान छोड्न काबुल विमानस्थलमा भएको भागदौडका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ । तर, सुरुका केही दिन तनावपूर्ण र कारुणिक भए पनि अहिले भने सामान्य हँुदै गएको अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमै बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ । उद्धार गरी जर्मनीतर्फ गइरहेको विमानमा एक महिलाले गत शनिबार छोरी जन्माएको जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमार्फत आमा र शिशुको तस्बिरसमेत सार्वजनिक गर्दै उद्धारकै क्रममा महिलाले बच्चा जन्माउँदा खुसी लागेको उल्लेख गरेको छ ।
युएस एयरफोर्स सी–१७ विमानमा बच्चा जन्मेको र आमा र शिशु दुवै जनालाई विमानमै स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको रक्षा मन्त्रालयले जनाएको छ । (रासस/एएनआई)