काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको दाबी गर्नुभएको छ ।
उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो । उहाँ अहिले संयुक्त अरब इमिरेट्स पुग्नुभएको छ । उहाँलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उहाँको साथमा उहाँको परिवार पनि रहेको छ ।
देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्नुहुँदै उहाँले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गर्नुभएको हो । उहाँले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राख्नुभएको छ । त्यस क्रममा उहाँले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गर्नुभएको छ ।
उहाँलाई आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अप्ठ्यारो स्थितिमा परेको अवस्थामा आफू र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए ।
गत आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।
काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका छन् । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।
काबुल विमानस्थलबाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तालिबानका लडाकु तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ । (एजेन्सी)





