काबुल । विद्रोही तालिबानले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी घाज्नी नियन्त्रणमा लिएको दाबी गरेको छ ।
रणनीतिक दृष्टिकोणले महत्त्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी सहर नियन्त्रणमा लिएको बिहिबार जानकारी दिइएको छ ।
घाज्नी सहर राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ । योसँगै तालिवान लडाकुले अफगानिस्तानमा अहिलेसम्म १० वटा प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेको छ ।
सरकारले अफगानिस्तानका विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकुले आफ्नो पकड बढाउदै लगेका हुन् ।
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरू सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।
४५ लडाकु मारिएको सरकारको दाबी
यसैबिच, अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकु मारिएका छन् । सो घटनामा परी अरू २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहिबार जानकारी दिएका छन् ।
“हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकु मारिएका छन् भने २२ घाइते भएको’ रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकुले प्रयोग गर्दै आएका महत्त्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन् ।
त्यसैगरी बल्ख प्रान्तमा पनि अरू २७ लडाकु मारिनुका साथै चार घाइते भएको तथा हेरात प्रान्तमा पनि २१ तालिबान लडाकु सुरक्षा कारबाहीका क्रममा मारिएको ती सुरक्षा अधिकारीले जनाएका छन् । (एजेन्सी)