काबुल । तालिबानले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर कब्जामा लिएको छ । पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर कब्जामा लिएको तालिबानले दाबी गरेको छ ।
गत चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी कब्जामा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुत रूपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ ।
यता, अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनुभएको छ । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनुभएको हो ।
यद्यपि, बाइडेनले अफगानिस्तानको शान्तिका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको बताउनु भएको छ ।
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा सात वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबानले लडाइँ जारी राखेको छ । (रासस/सिन्ह्वा)