गुरुप्रसाद कुमाल बुलबुल
म स्कुल जाने उमेरमा गाईगोठालो थिएँ । बिहानको खाना खाएर मिझ्नी बोकेर बलरामपुरको खरकट्टीमा गोरु चराउन जान्थेँ । हिउँदमा बलरामपुर, सेमरहवाका खरकट्टी अनि बगरहरुमा गाई चर्थे । हामी दिनभरि बगरमा चराका गुँड खोज्ने, बचेरा समाउने, अनि रमाउने गथ्र्यौं ।
दिउँसो मेरो मिझ्नी दिदीहरुले खाइदिन्थे । मिझ्नी खान नपाएर म रुन्थेँ । दिनभरि भोकै बस्नुपथ्र्यो । घर गएर आमासँग भनिस् भने कुटाइ खान्छस् भन्थे । मैले भन्दैनथेँ । अति भएपछि एकदिन आमासँग भनिदिएँ । आमाले ती दिदीहरुलाई गाली गर्नुभयो । अर्को दिनदेखि मेरो मिझ्नी मैले खान पाएँ, तर मलाई अर्को सजाय सुरु भयो ।
गाईहरु साह्रै चोर्न जान्थे । अब सबैका गाई घुमाउन मलाई मात्रै जानुपर्ने भयो । बगालमा सबैभन्दा चोरगोरु मेरै थियोे । त्यसको नाम लामखोप्री थियोे । बगरमा रहर छरेको हुन्थ्यो । त्यस गोरुलाई हरियो देख्नै हुन्नथ्यो । साह्रै चोर्न दौडिहाल्थ्यो । त्यसले रहरबारीमा दौडाएर हैरान पाथ्र्यो । मैले फर्काउनै सक्दैनथेँ । फर्काउन नसकेपछि म रुँदै फर्किन्थेँ । अनि, फर्काउन ठुलीआमा जानुहुन्थ्यो । ती दिदीहरुले मलाई सताएको सम्झिँदा अहिले बलियाले निर्धाेलाई दबाउने चलन पुरानै रहेछजस्तो लाग्छ ।
बर्खा लागेपछि खेतमा धानरोपाइँ हुन्थ्यो । राप्ती बढेर बगरमा गाई चराउन लैजान सकिन्नथ्यो । गाई चराउने ठाउँ हुँदैनथ्यो । अनि, हामीले गाईवस्तुलाई चराउन वन लान्थ्यौँ । गाउँदेखि सातआठ किलोमिटर टाढातिर, कहिले करैयाकोटतिर लान्थ्यौं ।
वनमा पनि उस्तै उट्पट्याङ मात्रै हुन्थ्यो । एकपटक रुखमा मौरीको घार फेला पा¥यौं । भीमबहादुर दाइले मह काढ्नुभयो । मह, कुट्ठु खाएर म लट्ठ परेछु । वनमौरीको महले होला, मलाई मात लागे छ । अर्जुनखोलापारि एक्ले बाँदर नाच्दै छ, यता वारि म नाच्दै छु । गाईगोरु कता छन् ? पत्तो छैन ।
तर गाईवस्तु घर फर्किने बेला सबै ओरालो झर्थे । अनि, घरतिर लाग्थे । त्यति टाढाबाट घर आइपुग्दासम्म गाईवस्तु भोकाइसक्थे । लामखोप्री गोरु घर नपुग्दै मकैबारीमा छिथ्र्याे । त्यसलाई फर्काउनै गाह्रो । अरु गाईगोरु बाँधेर आमा आउनुहुन्थ्यो त्यसलाई फर्काउन । मान्छेले त मलाई सताए सताए लामखोप्री गोरुले पनि मलाई खुब सतायो ।
आठनौ वर्षको भएपछि बल्ल म स्कुल जान थालेँ । पहिलो वर्षको नतिजा हेरेर फर्किने बेला मेरो टोलका केटाहरुको बुबा गल्लीमा कुरेर बस्नुभएको थियोे । पहिलो वर्ष म फेल भएको थिएँ । रामबहादुर र मानबहादुर पनि फेल भएका थिए । उनीहरु रुँदै घर फर्किरहेका थिए । तर, म रोएको थिइनँ । घर पुग्नै लाग्दा बुबाहरुलाई देखेर उनीहरु अर्कै बाटो भएर घर गए । म भने सरासर बुवा भएको ठाउँ गएको थिएँ । त्यस दिन बुबासँग के के कुरा भयो ? मलाई याद छैन । तर लडेपछि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने पाठ मैले त्यस दिन सिकेको रहेछु । त्यसपछि मलाई फेल हुनुपरेन ।
आजभोलिका विद्यार्थी स्कुल पनि पढ्छन्, त्यतिले नपुगेर ट्युसन पनि पढ्छन् सानै कक्षादेखि । मलाई स्कुलकै पढाइले पुग्थ्यो । कक्षामा शिक्षकले पढाएको ध्यानपूर्वक सुन्ने हो भने र घर आएर पनि त्यसलाई दोहो-याएर पढ्ने हो भने स्कुलकै पढाइ काफी छ । ट्युसनको जरुरत नै पर्दैन । मैले ट्युसन भनेको के हो ? धेरैपछि मात्रै थाहा पाएँ ।
एसएलसीको परीक्षा दिने बेलामा अङ्ग्रेजी विषयको एक महिना र गणित विषयको आधा महिना ट्युसन पढेको थिएँ, त्यो पनि रहरले । सबै ट्युसन जान्थे । एसएलसी त फलामे ढोका हो भनेर डर देखाउँथे । ट्युसन बिना पास हुन सकिन्न भन्ने हल्ला थियोे । मिहिनेती विद्यार्थीलाई जुनसुकै परीक्षा सजिलो हुन सक्छ । कुनै ट्युसन वा चिटको आवश्यकता पर्दैन । अरु साथीहरू प्राथमिक विद्यालयदेखि नै चिट चोर्थे ।
छुट्कीघुम्नाका एक जना विद्यार्थी थिए । उनी मभन्दा ठुलो अनि हट्टाकट्टा थिए । परीक्षक बाहिर गएको मौका छोपेर मेरो उत्तर पुस्तिका खोसेर मेरो हेरेर सार्थे । मैले उनले सारुन्जेल लेख्न पाउँदैनथेँ । तर पनि मेरो नम्बर राम्रै आउँथ्यो । उनी प्रथम हुन्थे । मेरो मनमा एक खालको घमण्ड हुन्थ्यो । मेरो सारेर त प्रथम भएको हो । चिट चोरेर त प्रथम भएको हो ।
माथिल्लो कक्षामा पनि यस्तै हुन्थ्यो । साथीहरू चिट चोरेरै प्रथम हुन्थे । एकपटक मैले पनि चिट चोर्ने आँट गरेँ । सायद कक्षा ८ को गणित विषयको परीक्षा थियोे । जुन चिट लगेको थिएँ, ठ्याक्कै त्यही प्रश्न प-यो । म्याडमले चुप लागेर लेख, कोही दायाबाया गर्ने हैन भन्नुभएको छ । मैले बडो आँट गरेर गोजीबाट चिट निकालेर लेख्न के लागेको थिएँ । अगाडि राजेन्द्र सर आएर हात थाप्नुभयो । हेडसरले चिट देखेर मागिसकेपछि दिनैप¥यो । मैले पनि चुप लागेर सरको हातमा चिट राखिदिएँ । सर नबोली फर्केर जानुभयो । त्यस दिनदेखि चिट चोर्न बन्द भयो ।
प्लसटू पढ्ने बेला फेरि एकपटक चिट चोर्ने प्रयास गरेँ । प्लसटू पढ्दा चिट लेख्ने दिन गइसकेको थियोे । साथीहरू गाइड, गेस पेपर बोकेर परीक्षाहल छिर्थे । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको थिइनँ । गेसपेपर बोकेर परीक्षाहल छिरेँ ।
“बाहिरबाट निरीक्षक आउँदै छ । तिमीहरुको चिट भेटियो भने सिधै निष्कासित हुन्छौ । जे जे ल्याएका छौँ, यहाँ अगाडि ल्याएर राख । पछि फेरि भटियो भने तिमीहरूको खैरियत छैन“ परीक्षकले भनेपछि सबै विद्यार्थी थुरथुर भए । गाइड, गेसपेपर के के थियोे, सबैले अगाडि लगेर राखे । मलाई पनि डर लाग्यो । मैले पनि अगाडि राखेँ । निरीक्षण कहाँबाट आउनु ? आएनन् । तर अरु साथीहरूले दुईदुई तीनतीन वटा गेसगाइड पेपर बोकेर जाने रहेछन् । उनीहरू खुरुखुरु सारेर उत्तरपुस्तिका बुझाएर हिँड्थे । तर मैले कहिल्यै चिट चोर्न सकिनँ ।
चिट चोरेर राम्रो अङ्क ल्याइएला, पछि राम्रो जागिर पाइएला । तर, आफ्नो मनलाई जीवनभर चिटचोर बनाउनु हुँदैन ।परीक्षाको अघिल्लो दिनसम्म म कुलो लाग्न झराली गएको थिएँ । परीक्षाको पूर्वतयारी कहिल्यै गर्न पाइएन । ठुलो हुँदै गएँ । जिम्मेवारी पनि बढ्दै गयो । घरको आर्थिक स्थिति कमजोर हुँदै गयो । पाँच कक्षा पास भएपछि नयाँ स्कुलमा भर्ना हुनलाई प्रमाणपत्र निकाल्ने आमासँग पैसा थिएन । बुबा कालिकोटको बाटो खन्न गइसक्नुभएको थियो । त्यस वर्ष नाम लेखाउन ढिलो भयो । १४ वर्षको बालख म, अनि दाजुहरू घोराही बजार लेबर काममा हिँड्यौँ ।
छिमेकी दाइले घोराहीमा घर बनाउने ठेक्का लिनुभएको थियो । हामीले उनैको काम गथ्र्यौं । केही समय काम गरिसकेपछि उहाँलाई घाटा हुने देखियो । दाइहरुले भाग्ने सल्लाह गर्नुभयो । हामी रातारात घोराही बजारबाट भागेर पनौरा पुग्यौँ । त्यस रात आर्मीले भेटेको भए हामी सबैको एउटै चिहान हुन्थ्यो । सङ्कटकाल थियो । हरेक रात कफिर्यु लाग्थ्यो । राज्यपक्षको नजरमा सबै माओवादी हुन्थे, सबै देशद्रोही हुन्थे । बिहानपख रेडियोले समाचार भन्थ्यो होला । गएरातिको भिडन्तमा यति जना माओवादी छापामारको मृत्यु…. ।
पनौरा गएपछि हामी अर्को ठेकेदारकोमा काम गर्न थाल्यौँ । म सानै भएर होला, ठेकेदारले मलाई गाह्रो काममा लगाउँदैनथ्यो । ठेकेदार थारू समुदायका थियो । अहिले उसको नाम बिर्सेँ ।
एकपटक घरको प्लास्टर गर्दा खाटको तल म मसला उठाउँदै थिएँ, खाट भाँचिएर दुई जना मिस्त्रीसहित मेरो माथि खसे । मेरो ढाडमा चोट लाग्यो । त्यो चोटले अझै पनि दुःख दिन्छ ।
एकपटक ढलानको दिन मेरो टाउकोमा दुई तल्ला माथिबाट कराही खस्यो ।
काम गर्ने क्रममा यस्ता धेरै दुर्घटना हुन्छन् । ठेकेदार कम्पनीले कामदारको दुर्घटना बिमा गरेका हुँदैनन् । ठेकेदार कम्पनीले यस्ता जोखिमका काममा लगाउनुपूर्व कामदारको बिमा गर्नुपर्ने खाँचो अहिले पनि छ तर बोल्ने को ?
केही महिना काम गरेपछि मेरो स्वास्थ्य बिग्रियो । म घर फर्केँ । कमाएको थोरै पैसा पनि उपचार, अनि घरखर्चमा सकियो । स्कुलमा नयाँ भर्ना सुरु हुँदै थियोे । मसँग पैसा थिएन । म साथीहरूसँग गहुँ काट्न भैरहवा गएँ । चैतमासको गर्मीमा पसिना बगाएर कमाएको पैसाले स्कुलबाट सर्टिफिकेट निकालेँ; अनि, वनगाउँ स्कुलमा भर्ना भएँ ।
रोकिएको मेरो पढाइ सुरु भयो । पुराना स्कुलका ड्रेस धोइधाइ पारेर शरीरमा धारण गरेर पुनः स्कुल जान पाउँदाको त्यो दिन, आहा ! ठुलै युद्ध जितेजस्तै असीम खुसी लाग्यो । नयाँ दसैँ आएजस्तो लाग्यो । नयाँ स्कुलको नयाँ ड्रेसको ठेगान थिएन, तैपनि मन हावामा कावा खाँदै सधै स्कुलको बाटो दगुरिरहन्थ्यो ।
अहिले पनि मेरो त्यो बेलाको वयका धेरै बाबुनानी शिक्षाबाट बञ्चित छन् । निःशुल्क शिक्षा त भनिन्छ तर त्यो नीतिनियम भन्नलाई मात्रै छ । देखाउनलाई मात्रै हो । हामीजस्ता निम्नवर्गका केटाकेटी अझै पनि इँटाभट्टामा काम गर्दै छन् । ठुला ठुला महल बनाउन पिठ्युँमा इँटा, अनि बालुवा बोकिरहेका छन्; मजदुरी गरिरहेका छन् । उनीहरूको स्कुले झोला बोकेर खुसी हुँदै स्कुल हिँड्ने दिन कहिले आउला… ?

