काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ ओटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ ओटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।
प्रतिवेदनका अनुसार १८ ओटा विद्यालयका ५६ ओटा भवन प्रभावित भएका छन् । त्यसमध्ये एक सय ५२ ओटा कोठामा आंशिक र एक सय ५६ ओटामा पूर्ण रूपमा क्षति पुगेको छ ।
स्थानीय तहका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुइटा भवनका ११ ओटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो रु ३.७५ करोड बराबरको क्षति हो ।
रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीनोटा विद्यालयका छओटा भवनमा ३६ ओटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यो करिब रु १२.२९ करोड बराबरको क्षति हो ।
नुवाकोटको विदुर नगरपालिकामा रहेका नौओटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ ओटा भवनमा क्षति पुगेकोमा ६१ ओटा कोठा आंशिक र ८९ ओटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जुन रु ३६.६२ करोड बराबर हो ।
धादिङको गल्छी गाउँपालिकाका तीनोटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये १० ओटा भवनका ७७ ओटा कोठा आंशिक र आठोटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जुन रु १०.६१ करोड बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुइटा भवनका १२ ओटा कोठा पूर्ण रूपमा क्षति भएका छन्, जुन रु ४.१ करोड बराबरको क्षति हो ।
जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चारोटा भवनका १४ ओटा कोठामा आंशिक क्षति पुगेको छ, जुन रु १.४३ करोड बराबरको क्षति हो । प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रूपमा रहेका रु २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आँकलन गरेको छ ।
