महेश जोशी, महासचिव, अखिल (छैठौं)
अखिल (छैठौं)ले आफ्नो २२औँ राष्ट्रिय सम्मेलन आगामी जेठमा गर्ने भनेर निर्णय गरेको छ । यहाँहरुले राष्ट्रिय सम्मेलन तयारीका लागी के–कस्ता योजना बनाउनु भएको छ ?
हाम्रो युनियन अखिल (छैठौं) को सातौं पूर्ण बैठकले २०७८ जेठ २१, २२ र २३ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा २२ औं राष्ट्रिय सम्मेलन गर्न निर्णय गरेको छ । राष्ट्रिय सम्मेलन भव्यरुपमा सम्पन्न गर्न युनियनका अध्यक्ष विमल पोख्रेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव महेशराज जोशीको संयोजकत्वमा स्थल व्यवस्थापन समिति, सचिव सुवास जिसीको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सचिवालय सदस्य उमेश कँडेलको संयोजकत्वमा स्वयंमसेवक समिति गठन गरेर कार्य प्रारम्भ गरेका छौं ।
यसैगरी राष्ट्रिय सम्मेलनलाई मुर्त रुपमा सफल पार्न माघ १५ गते भित्र सबै प्रदेश समितिहरुका बैठक सम्पन्न गर्ने निर्णय गरेका थियौँ । त्यस अनुसार अधिकांश प्रदेश समितिको बैठक बसेर योजना बनाइसकेका छन् भने केही प्रदेशमा बस्ने क्रममा छ । यस्तै, माघ ३० भित्र जिल्ला समितिका बैठक सम्पन्न गर्ने योजना अनुसार जिल्ला समितिको बैठकहरु बसिरहेको छ । आगामी २०७८ जेठ १० भित्र जिल्लाका सम्मेलन र भेलाहरु सम्पन्न गरी जेठ १५ भित्र प्रतिनिधी पर्यवेक्षकको टुङ्गो लगाई केन्द्रीय कार्यालयमा पेश गरिसक्ने गरी योजना बनाएका छौं । हामीले युनियनको सर्वोच्च निकाय राष्ट्रिय सम्मेलनलाई भव्य, उत्साह र सानदार रुपमा सम्पन्न गर्न उद्घाटन सत्र खुल्ला, जुलुससहित बृहत आम सभाका विचमा गर्ने योजना बनाएका छौं । राष्ट्रिय सम्मेलनलाई भव्य एवम् व्यवस्थित बनाउन व्यवस्थापन समिति बनाउने र त्यस अन्तर्गत विभिन्न उपसमिति निर्माण गर्नेछौं । कार्यक्रम सफल पार्न त्यो क्षेत्रका पार्टीपंक्ति तथा हाम्रो युनियनका साथीहरु उत्साहका साथ फिल्डमा खटिसक्नु भएको छ र अगाडि बढ्नु भएको छ ।
राष्ट्रिय सम्मेलनका लागि यहाँहरुले कञ्चनपुर नै किन रोज्नु भयो ?
प्रायःजसो राष्ट्रिय सम्मेलनहरु देशको राजधानीमा हुने गर्दछन् । हाम्रो संगठनले पनि कहिले राजधानी र कहिले बाहिर पनि सम्मेलन गर्ने गर्दछ । हामीले २१ औं राष्ट्रिय सम्मेलन एक नम्बर प्रदेशको झापामा सम्पन्न गरेका थियौं । यसअघि १५ औं राष्ट्रिय सम्मेलन २०५७ सालमा सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको धनगढीमा सम्पन्न गरेका थियौं । अहिले सुदूरपश्चिममा करिब २१ वर्षपछी र कञ्चनपुरमा पहिलो पटक २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेका छौं । त्यतिबेला मुलुकमा शाही राजतन्त्र थियो । अहिले जनताको बलमा ०६२–०६३ को आन्दोलनको जगमा स्थापित गणतन्त्र आएको छ भने जनताका छोरा छोरी राष्ट्रपति भइसकेको अवस्था छ ।
राष्ट्रिय सम्मेलनका क्रममा हामीले सुदूरपश्चिममा राष्ट्रिय राजनीति, शिक्षानीति, अन्य कैयौं राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका बिषयमा वहस छलफल गर्नेछौं । त्यो बहसले त्यहाँको भुगोलभित्र रहेको राजनैतिक समाजिक, आर्थिक, साँस्कृतिक पहिचान र राष्ट्रिय पहिचानबीच सामिप्यता वढाउने, परिचित गराउने र आविकसित र पिछडिएको क्षेत्र भनेर चिनिने सुदूरपश्चिम प्रदेशप्रति राष्ट्रको ध्यान केन्द्रित गराउन सफल हुनेछौं भन्ने विश्वास लिएका छौं । त्यसको साथै यस ऐतिहासिक २२ औं राष्ट्रिय सम्मेलनले सुदूरपश्चिम प्रदेशमा हाम्रो संगठन थप सक्रिय र सुदृढिकरण हुनेछ र संगठनको अवस्था पनि बलियो हुनेछ भन्ने विश्वास लिएका छौँ ।
हरेक दुई दुई वर्षमा गर्नुपर्ने राष्ट्रिय सम्मेलन झण्डै आठ महिना ढिलो गरी गर्दै हुनुहुन्छ । कोरोनापछि सबै क्षेत्र सुचारु भएपनि यहाँहरुको राष्ट्रिय सम्मेलन विलम्ब हुनुको कारण के हो ?
कोरोना भाइरसले महामारीकै रुपमा विश्वभर अप्रत्यासित असर गरेको छ । जसको असर हाम्रो मुलुकमा पनि प्रत्यक्ष परेको छ । हाम्रो देशमा पनि लामो समय लकडाउन वा वन्दावन्दी भएको थियो । जसका कारणले हजारौंका रोजगारी गुमेका छन् भने कैयौं महत्वपूर्ण उद्योग, व्यवसाय कलकारखाना बन्द हुने अवस्थामा छन् । यसले देशको अवस्थामा उथलपुथल भएको छ । देशका हरेक क्षेत्रमा गम्भीर असर परेको छ । हाम्रो संगठनको मुख्य क्षेत्र स्वभाभिक रुपमा शैक्षिक क्षेत्र हो ।
अहिलेको यो कोरोना भाइरसले शिक्षण संस्था लामो समय पूर्ण रुपमा बन्द रहे भने शिक्षा क्षेत्रका अन्य निकायमा पनि असर पर्यो । अहिले शिक्षा क्षेत्र र शिक्षण संस्थाहरु बिस्तारै खुल्ने र मुलुक पनि आफ्ना गतिविधीलाई नियमितता तर्फ वढाईरहेको अवस्थामा हामीले यो महत्वपूर्ण निर्णय गरेका हौं । हाम्रो युनियनको विधान बमोजिम दुई वर्षमा राष्ट्रिय सम्मेलन गर्ने गर्दछौं । तर असाधारण अवस्थामा घटबढ हुनसक्ने प्रावधान रहेको छ । अहिलेको बर्तमान अवस्थाका विषमा यहाँलाई जानकारी नै छ । हामी अहिले ३२ महिनापछी राष्ट्रिय सम्मेलन गदैछौं । जुन हामी ८ महिना ढिला छौं । यो हाम्रो कारण नभै देशका परिस्थितीका कारण यो अवस्था सिर्जना भएको हो ।
पछिल्लो समयमा अखिल (छैठौं) को गतिविधि सुस्ताएको देखिन्छ । यस्तो अवस्था किन आएको हो ?
अहिले अखिल (छैठौं)को गतिविधि मात्रै होइन, देशको समग्र अवस्था सुस्त छ । कारण कोरोना महामारी नै हो । तपाईंले भनेजस्तो पछिल्लो समय अखिल (छैठौं) का गतिबिधिहरु केही सुस्ताएको साँचो हो । अहिले नेपालमा साम्राज्यवादीहरूको चलखेल बढेको छ, अन्तर्राष्ट्रिय भूमण्डलीकरणको असर नेपालको शिक्षा क्षेत्रमा र नेपालको विद्यार्थी आन्दोलनमा पनि परेको छ । र समग्र विद्यार्थी आन्दोलन जुन वेगका साथ अघि बढ्नुपर्ने हो, त्यो वेगमा चल्न नसकेर आन्दोलन सुस्ताएको छ । नेपालमा अग्रगमनका लागि हुने आन्दोलन र शासकका गलत प्रवृतिकाविरुद्ध विद्यार्थी संगठनहरूको महत्वपूर्ण भूमिका रहेको छ । कोरोनका कारणले हाम्रा धेरै कार्यक्रमहरु प्रभावित भए ।
पछिल्लो समय विद्यार्थी आन्दोलन तथा अग्रगमनका पक्षधर शक्तिहरुको बलमा स्थापित संविधान अनुरुप समग्र विद्यार्थीहरुको हक अधिकार सुरक्षित हुने हामीले आशा राखेका थियौं । तर, राजनीतिक व्यवस्था परिवर्तन भएपनि हाम्रो अवस्थामा परिवर्तन आउन सकेन । वर्तमान शासकहरुले पनि शैक्षिक क्षेत्रबाट उत्पादित जनशक्तिलाई देशको हितमा उचित व्यवस्थापन गर्न चाहेनन् । शिक्षालाई अझै पनि सर्वसुलभ, व्यवहारिक र सबैको पहुँचमा पुर्याउने काम भएको छैन । यतिसम्म कि निशुल्क भनेर घोषणा गरिएको मावि तहमै शिक्षा निशुल्क छैन । यस्तो अवस्थामा विगतमा विद्यार्थी आन्दोलनको फन्ट लाइनमा बसेर आन्दोलन गरेका अखिल (छैठौं) बाहेक अन्य अवसरवादी प्रतिकृयावादी विद्यार्थी संगठनहरूले आन्दोलन छोडेर सत्ताको तावेदारी गरिरहेका छन् । यो कारणले पनि विद्यार्थी आन्दोलन सुस्ताएको हो ।
सुस्ताएको विद्यार्थी आन्दोलनलाई अघि बढाउने यहाँहरुको पनि खासै पहल देखिन्न नि ?
अखिल (छैठौं)ले २१ औं राष्ट्रिय सम्मेलन पश्चात संघीयताविरुद्ध विद्यार्थी आन्दोलन अघि बढायो । प्रदेश नम्बर २ मा ‘छोरी पढाऊ, दाईजो हटाउ’ जस्ता अभियान सञ्चालन ग¥यो । लागुपदार्थ, अन्धविश्वासकाविरुद्ध आन्दोलन लगायत शैक्षिक निजीकरण र व्यापारीकरणका विरुद्ध हामी निरन्तर आन्दोलनमै छौँ । हामीले गत चैतमा ‘संघीयताविरुद्ध काठमाडौँ मार्च’ गर्ने निर्णय गरेका थियौं । देशभरि सम्पूर्ण तयारी भइसकेपछि कोरोनाले लकडाउन भएपछि कार्यक्रम स्थगित गर्नुपर्यो ।
हाम्रो संगठनले भारतीय साम्राज्यवाद,ले लिपुलेक लिम्पियाधुरा लगायत दक्षिणसँग जोडिएका भूमि मिच्ने, आफ्नो नक्सामा हाम्रो जमिन समेटेर प्रकाशित गर्ने कदमका विरुद्ध हामी सशक्त रुपमा आन्दोलनमा सक्रिय रह्यौं । हामी महंगी, भ्रस्टाचार, लगायत विद्यार्थी हकहित तथा जनजीविकाका सवालमा निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेका छौं । विद्यार्थी आन्दोलनको महत्व गरिमाको संरक्षण गर्दै विद्यार्थी आन्दोलनलाई सक्रिय पार्दै आन्दोलन र अखिल छैठौं प्रति विद्यार्थी आकर्षण बढाउन हामी निरन्तर सक्रिय छौं ।
संयुक्त विद्यार्थी आन्दोलन अगाडि बढाउन अखिल (छैठौं) ले के कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
हाम्रो युनियन अखिल (छैठौं)ले मुलुकको अग्रगमनका लागि एकल वा संयुक्त आन्दोलनमा सामेल भई नेतृत्व गरेको छ । संयुक्त विद्यार्थी आन्दोलन निर्णायक मोडमा पुग्दा आन्दोलनमा सहभागि कतिपय विद्यार्थी संगठनहरुले सम्झौतापरस्त नीति अपनाउने वा धोका दिने चरित्रका कारणले संयुक्त विद्यार्थी आन्दोलनमाथि नै विश्वास घट्ने र प्रश्न चिन्हहरु खडा हुने गरेका छन् । तर हाम्रो संगठन अखिल (छैठौं)ले संयुक्त विद्यार्थी आन्दोलन भित्रका विकृति र विसंगतिका विरुद्ध पनि संघर्ष गर्दै आएको छ । संयुक्त विद्यार्थी आन्दोलन चलिरहँदा विगतमा केही संगठनहरुले दिएका धोका जस्तै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र फेजआउट गर्दा, शुल्क वृद्धि हुँदा, कुनै पूर्वाधार विना सेमेस्टर प्रणाली लागू हुँदा, शैक्षिक निजीकरण र व्यापारीकरण विरुद्धको आन्दोलन अगाडि बढाउँदा सिंगो आन्दोलन र हाम्रो संगठनमाथि धोका दिएका छन् ।
हाम्रो संगठनले आन्दोलन चलाइरहँदा आन्दोलनमा भएका विकृति र विसंगतिको भण्डाफोर गर्दै देशको सार्वभौमसत्ताको रक्षाका लागि, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताको रक्षाका लागि र शासकका गलत रबैयाका विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनमा विश्वास गर्छं र सामेल पनि हुने गर्दछ । हामीले संयुक्त विद्यार्थी आन्दोलनमा सामेल हुँदा अत्यन्त सचेत भएर आन्दोलन उठान गर्ने र सँगैका अन्य संगठनहरुलाई पनि खबरदारी गर्दै आन्दोलनलाई गलत प्रकारले सम्झौता हुन नदिनका लागि धेरै प्रयत्न गरेका छौं । हाम्रो संगठन आन्दोलनका क्रममा गलत पक्षहरुसँग सामेल हुने वा बिचैमा सम्झौता गर्ने गर्दैन । हामीले आन्दोलनलाई गलत प्रकारले वा सम्झौतामा टुंग्याउनु भन्दा फरक प्रकारले अगाडि बढाउने गर्दछौँ । तैपनि देशको आवश्यकता अनुसार मिल्न सक्ने विषयहरुमा समान धारणा भएका संगठनहरुलाई समेट्दै आन्दोलन अगाडि बढाउन अखिल (छैठौं)ले लगातार भूमिका निर्वाह गर्ने गरेको छ ।
अहिले शिक्षा क्षेत्रमा के कस्ता समस्या देख्नुभएको छ ?
वर्तमान शिक्षामा र शिक्षाक्षेत्रमा तमाम समस्या रहेका छन् । नेपाल सरकारले शिक्षा क्षेत्रमा गैर जिम्मेवारीपन देखाइरहेको छ । नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । यो भनेको पैसा नतिरीकन पढ्न पाउने व्यवस्था हो । तर शिक्षामा पूर्व प्राथमिक तहदेखि उच्च शिक्षासम्म चर्को शुल्क उठाएर लुट मच्चाइएको छ । अहिले पनि पैसा हुने र नहुनेको लागि बेग्लाबेग्लै शिक्षण संस्थाहरु छन् । सरकारले दोहोरो शिक्षा नीति खारेज गर्नुपर्दछ । वर्तमान अवस्थामा सञ्चालित भइरहेका निजी शिक्षण संस्थाहरुलाई पूर्णरुपले बन्द गर्नुपर्दछ । नेपाल सरकारले शिक्षाको पूर्ण स्वामित्व लिनु वा ग्रहण गर्नुपर्दछ । व्यवरिक, वैज्ञानीक शिक्षा लागू गर्नुपर्दछ । विश्व बजार र हाम्रो मौलिकतामा प्रतिस्पर्धा गर्न सक्नुका साथै मुलुकको सम्वृद्धिमा योगदा गर्नसक्ने शिक्षा लागू हुनुपर्दछ ।
वर्तमान शिक्षाले वर्गीय दृष्टिकोणको विकासमा व्यवधान खडा गरेको छ । समाजमा भएका अन्याय, अत्याचार, बेथीति, कुसंस्कारका बिरुद्ध लड्नका लागि प्रेरित गर्दैन । मान्छेले स्वार्थरहित ढंगले समाजको सेवा गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकता दिएको छैन । विदेश पलायन र पराधीन मानसिकताको विकास हुनुमा वर्तमान शिक्षा प्रणाली नै दोषी देखिन्छ । समाजको वर्गीय चरित्र, भूगोल, संस्कृति, देशको इतिहासको विषयमा अध्ययन र अध्यापन गराइन । मुलुकको शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि जनवादी शिक्षा लागू हुनुपर्दछ ।
कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द रहे । यो अवस्थामा पठनपाठन प्रभावकारी रुपमा सुचारु गर्न यहाँहरूको संगठनले खासै दबाब दिन सकेन नि ?
कोरोना भाइरसले अहिले पनि विश्व नै आतंकित छ । अहिले यसकोविरुद्ध खोप लगाउन सुरु गरिएपनि अझै आम सर्वसाधारणको पहुँचमा पुगिसकेको छैन । यसको नियन्त्रणका लागि अहिले पनि सामाजिक दूरी र राज्यले अपनाएको मापदण्ड मान्नुको विकल्प हामीसँग छैन । तर पनि हामीले शिक्षालाई वैकल्पिक माध्यमले सुचारु गर्न राज्यसँग पटकपटक माग राख्यौं ।
अहिले विद्यालय बिस्तारै खुल्दै छन् । हामीले शैक्षिक वर्ष केही समय बढाएर भएपनि विगतमा भएको लकडाउनको अवस्थाको क्षतिपुर्ती गर्न आग्रह गरेका छौं ।
शैक्षिक निजीकरण तथा व्यापारीकरण विरुद्ध चर्को आवाज उठाउने अखिल छैठौंको आवाज मत्थर किन भएको हो ? के यसको विकल्प नदेखेर हो ?
हाम्रो संगठन अखिल (छैठौं) निरन्तर शैक्षिक निजीकरण र व्यापारीकरणका विरुद्ध निरन्तर संघर्षको मोर्चामा अग्रसर रहेको छ । हामीले सरकार र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, सरोकारवाला पक्षसँग छलफल, अन्तरक्रिया गर्ने र सडक आन्दोलन गर्ने काम जारी राखेका छौँ । हाम्रो संगठन निरन्तर आन्दोलनमा नै छ । शैक्षिक निजीकरण र व्यापारीकरण बन्द गर्नुपर्छ । यसका लागि हाम्रो प्रयास निरन्तर जारी रहनेछ ।
नेपालको कम्युनिष्ट आन्दोलनको नर्सरीका रुपमा रहेको अखिल (छैठौं) बाट अहिले नयाँ बिरुवा उत्पादन निकै कम देखिन्छ नि ?
नेपालको कम्युनिष्ट आन्दोलनमा अखिल (छैठौं)को महत्वपूर्ण भूमिका रहेको छ । अखिल (छैठौं) मा समाहित भएर राजनैतिक चेत निर्माण गरेका, संगठनको कुनै न कुनै कमिटिमा आवद्ध भएर सक्रिय भइ आन्दोलनमा सहभागी भएका अधिकांश व्यक्तिहरु अहिले राष्ट्रिय राजनीतिको नेतृत्वदायी अंगमा हुनुहुन्छ । यसले हजुरले भनेको अखिल (छैठौं) नेपालको कम्युनिष्ट आन्दोलनको नर्सरी रहेको कुरा सत्य हो । यो अखिल (छैठौं) का लागि गर्वको विषय पनि हो । अहिले नयाँ बिरुवा उत्पादनमा पनि हामी निरन्तर लागिरहेका छौं । देशको पछिल्लो राजनैतिक अवस्थाले केही कमी जस्तो देखिएता पनि हाम्रो संगठनले नयाँ बिरुवा उत्पादनमा जोड दिइनै रहेको छ ।
पछिल्लो राजनैतिक अवस्था प्रति यहाँहरूको मूल्यांकन के हो ?
वर्तमान राजनैतिक अवस्थामा फेरि पनि देश प्रतिगमनको दिशातर्फ जान थालेको छ । सत्ता संचालक पार्टीको आन्तरिक कलहले गर्दा संविधानले व्यवस्था नै नगरेको जनताद्वारा निर्वाचित निकाय प्रतिनिधि सभा बर्तमान केपी ओली सरकारले विघटन गरेको छ । यसले संविधानको गम्भीर उल्लंघन भएको छ भने देश अनिश्चयताको भूमरिमा छ । केपी ओली सरकारको वर्तमान कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनउन्मुख कदमका रुपमा हामीले मूल्यांकन गरेका छौं ।केपी ओली सरकारको पछिल्लो कदमले देशमा विद्यमान अवस्थामा रहेका गणतन्त्र,राष्टियता, धर्मनिरपेक्षता माथि गम्भीर खतरा उत्पन्न भएको छ । हामीले अहिले गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षाकालागि र वर्तमान सरकारको यो कदमको खारेजीका लागि हाम्रो युनियन मुलुक परी सडक संघर्ष मा छौ । हामीले अहिले संसद पुनर्स्थापित हुनुपर्छ भनेर स्पष्ट भनेका छौं ।
अन्तमा तपाईंलाई भन्न मन लागेको केही कुरा छ कि ?
हाम्रो युनियनका विचारहरू आम विद्यार्थी र जनसमुदाय हुँदै राज्यसम्म पुर्याउने अवसर प्रदान गर्नुभएकोमा यहाँलाई धन्यवाद । साथै युगदर्शनलाई हार्दिक धन्यवादसहित उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।
(अन्तर्वार्ताः विद्यानाथ अधिकारी ।)