शंकरप्रसाद पोख्रेल, तम्घास ।
कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटअन्तर्गत रानीखर्कका पूरै बासिन्दा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । त्यसका साथै त्यहाँ राजमो टोल समितिसमेत गठन गरिएको छ ।
राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाक्षेत्री र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको उपस्थितिमा शुक्रवार सम्पन्न भेलामा रानीखर्कको पूरै राष्ट्रिय जनमोर्चामा समाहित भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै रामकुमार क्षत्रीले झन्डै दुईतिहाइको सरकार राष्ट्रियता तथा जनताको समस्या समाधान गर्नुभन्दा पनि प्रतिनिधि सभा विघटन गरेर गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको विरोधमा लागेको आरोप लगाउनुभयो । उहाँले प्रतिनिधि सभा पुनःस्थापनाका लागि जनताले सडक सङ्घर्षमा जुट्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
भेला अशोक पुनको अध्यक्षता र मेघराज शर्माको सञ्चालनमा अघि बढेको थियो ।
भेलाले गठन गरेको टोल समितिमा अध्यक्ष अशोक पुन रहनुभएको छ । १५ सदस्यीय राजमोको रानीखर्क टोल समितिमा उपाध्यक्षमा दिपक पुन, सचिव मोतिकुमार पुन, सहसचिव, पूर्णबहादुर थापा र कोषध्यक्ष उर्मिला थापा रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा सुरेश छन्त्याल, रुद्रमान पुन, दिपक छन्त्याल, मानबहादुर पुन, रामबहादुर पुन र अन्जना पुन रहनुभएको छ ।
त्यस्तै वैकल्पिक सदस्यमा होम पुन, कर्नबहादुर छन्त्याल, सुकुकुमारी पुन र बिस्नु पुन रहनुभएको छ ।