काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले सोमबार (माघ १९ गते) काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
हार्दिक होटलमा आयोजना गरिने ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्य अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ भने विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको राजमोका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (प्रचण्ड–माधव पक्ष) का नेता लिलामणी पोखरेलसहित जनता समाजवादी पार्टीका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।
यस्तै, पूर्व सभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरिप्रसाद उप्रेती र डा. चन्द्रकान्त ज्ञवालीले सहभागिता जनाउने निश्चित भएको छ । यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको पनि आतिथ्यता रहनेछ ।





