काठमाडौँ । नेकपा (मसाल) ले बागमती प्रदेश सरकारका विरुद्ध प्रस्तुत अविश्वास प्रस्तावलाई समर्थन गरेको छ ।
प्रतिगामी कदमका विरुद्धको सङ्घर्षलाई मजबुत बनाउने विश्वासका साथ नेकपा (मसाल) ले अविश्वास प्रस्तावलाई समर्थन गरेको हो ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ माघ ११ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी दिइएको हो ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको कार्यलाई हाम्रो पार्टीले असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी बताउँदै त्यसका विरुद्ध एकल तथा संयुक्त सङ्घर्षसमेत सञ्चालन गर्दै आएको छ । त्यसरी नै ओलीपक्षको नेतृत्वमा कायम रहेका प्रदेश सरकारका विरुद्ध प्रस्तावित हुने अविश्वासको प्रस्तावलाई हामीले समर्थन गर्ने नीतिअनुसार प्रदेश नं. १ र बाग्मती प्रदेशमा दर्ता भएका प्रदेश सरकार विरुद्धका अविश्वास प्रस्तावप्रति हाम्रो समर्थन रहने छ ।
यी प्रदेशका सभामा अविश्वासको प्रस्तावको निर्णय प्रक्रियामा हाम्रो भूमिका रहने स्थिति नभएको भए पनि अविश्वासका प्रस्तावप्रति हुने समर्थनले प्रतिगामी कदमका विरुद्धको सङ्घर्षलाई मजुबत बनाउने छ भन्ने कुरामा हामीलाई विश्वास छ ।”