बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले यही माघ महिनामा तीन ठाउँमा विरोधसभा सम्पन्न गर्ने भएको छ ।
गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा तथा सङ्घीयता खारेज गर्न, महङ्गी, कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरबाही र भ्रष्टाचारको विरुद्धमा २०७७ माघ १६ गते बुर्तिबाङ बजार, माघ १७ गते कुश्मीसेरा बजार र माघ २४ गते गल्कोट हटिया बजारमा विरोधसभा गर्न लागिएको हो ।
यही माघ ९ र १० गते बसेको राजमो बागलुङको बैठकले सो निर्णय गरेको आज जिल्लाध्यक्ष अमर थापाको हस्ताक्षरमा प्रकाशित प्रेसविज्ञप्तिमा जनाइएको छ ।
फागुन ९ र १० गते बागलुङ बजारमा जिल्ला प्रशिक्षण भेला गरिने तथा त्यसलगत्तै फागुन ११ गतेदेखि १६ गतेसम्म जिल्लामा ५ टोली निर्माण गरी दोश्रो चरणको विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिने जानकारी दिइएको उक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
“१. गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा साथै केपी ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी शैलीमा सार्वभौम जनताको संसद विघटनका विरुद्ध प्रतिनिधि सभाको पुनःस्थापनाको पक्षमा, सङ्घीयता खारेज गर्न, महङ्गी, कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरबाही र भ्रष्टाचारको विरुद्धमा जिल्लाका तीन स्थानमा विरोधसभा गर्ने निर्णय भएको छ । ती विरोधसभालाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, गण्डकी प्रदेश सभा सांसद कृष्ण थापा र सांसद खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गानाले सम्बोधन गर्नुहुने छ, जसअन्तर्गत २०७७ माघ १६ गते बुर्तिबाङ बजार, माघ १७ गते कुश्मीसेरा बजार र माघ २४ गते गल्कोट हटिया बजारमा विरोधसभा गरिने छ । यसका साथ साथै जिल्लाका अन्य स्थानमा समेत विभिन्न विरोधका कार्यक्रम गरिने छ ।
२. आगामी फागुन ९ र १० गते बागलुङ बजारमा राष्ट्रिय जनमोर्चा, बागलुङको जिल्ला प्रशिक्षण भेला गरिने छ । प्रशिक्षण भेलालगत्तै फागुन ११ गतेदेखि १६ गतेसम्म जिल्लामा ५ टोली निर्माण गरी दोश्रो चरणको विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिने छ, जसमा केन्द्र र जिल्लास्तरीय नेता साथीहरूको नेतृत्व रहने छ ।
३. बैठक पहिलो चरणमा सञ्चालन भएको विशेष सङ्गठनात्मक अभियान पूर्ण रूपमा सफल रहेको समीक्षा गर्दैं राष्ट्रिय जनमोर्चाप्रति जनलहर बढेको निष्कर्षमा पुगेको छ । यो जनलहरलाई थप संस्थागत गरी पार्टीलाई सबल र सक्षम बनाउन सघन सङ्गठनात्मक गतिविधि र कार्यक्रम सञ्चालन गरिने छ ।
४. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले गर्दा दुईतिहाइनजिकको जनमत भएको सरकारले संसदको विघटन गरेपछि देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको वर्तमान सन्दर्भमा सही राजनीतिक संस्कारको विकास गराउन, जनताका जनजीविकासँग जोडिएका सवालमा सङ्घर्ष गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न, जनताका आधारभूत समस्याको समाधान र देशको दिगो विकासका लागि थप सङ्घर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा बैठकले जोड दिएको छ ।”