काठमाडौं । विभाजित नेपकपाका दुई समूहबीच अछाममा झडप भएको छ । झडपका क्रममा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ ।
सोमबार आमसभालाई सम्बोधन गर्न अछाम पुगेका थापाको गाडीमाथि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले ढुंगामुढा गरेका थिए । त्यसक्रममा उनी चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको र सिसा चर्किएको जानकारी दिनुभयो ।
झडपपछि थापा दमाहा बजाउँदै आफ्नो समूहका कार्यकर्ताका साथ ब्यानर समातेर आमसभा स्थलतर्फ लागेका थिए भने विरोधमा उत्रिएका कार्यकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए ।
नेकपा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहका नेता भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक देखिएका छन् भने रावलमाथि पनि ओली समूहका नेता कार्यकर्ता बढी नै आक्रोशित देखिन्छन् । अछाम पूर्व गृहमन्त्री रावलको गृह जिल्ला हो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै प्रतिगमनलाई सघाउ पुग्ने कुनै पनि कार्यक्रम गर्न नदिने प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बताए ।





