इन्द्रकान्त शर्मा ##
ङिमा ङिटु लामा, प्रेमबहादुर सम्पूर्ण, रमणसिंह घले र म अनि फुदिन्डु लामा क्या मिल्ने साथी थिएम् नि हामी ! ती स्कुलका दिन थिए । कुनै रुचेनिटार हुँदै र कुनै निधारे पहाडको पिङमच्चे भिर भएर स्कुल पुगिन्थ्यो । क्या दिन थिए त नि ती दिन पनि ! त्यसै त्यसै कल्पेर आउँछ मन ! हिजोका ती अमनचयन, सन्तोख, रसभरी, प्रसन्न, भरिपूर्ण र आनन्दका दिन । आजका यी उकुसमुकुस अनि छट्पटीका दिन !
रुचेनिटारमा चहलपहल बढेको भए तापनि पिङमच्चे भिर उस्तै रहेको छ । भन्न त कसैकसैले यो पिङमच्चे भिरलाई निधारे्भिर पनि भन्छन् तर खासमा यो निधारेभिर होइन, निधारे डाँडाको पिङमच्चे भिर हो । पिङमच्चे भिर सुरुआती दिनमा जस्तो थियो, अहिलेसम्म पनि उस्तै त होला । ओसेपिलो थियो, ओसेपिलो नै होला । पुर्खाका पालादेखि हरेस नखाई उस्तै रहेको छ । आफ्नो धर्म कत्ति छोडेको छैन । दिगम्बर छ । यही दिगम्बर उसको दौलत हो । मदुसभरिको खजाना हो । के जाने ? यो खजाना भोलिपर्सिसम्म रहने हो कि नाइँ ? अहिलेसम्म त टम्मै छ ।
जिन्दगी के रै’छ भनेर पत्तो लाग्ने बेलासम्म यो फुक्सिङ सिरिज, बेइजिङदेखि साङ्घाईका लागि छुटेको बुलेट ट्रेनजस्तो जाँदो रै’छ । जिन्दगी सजाउने कुरा कोरल्नु पिङमच्चे भिरबाट घाँसको डोकोमाथि ठिम्रे सालको लाथ्रा दाउरा बिटो खापेर ल्याउँदा लत्रालुत्रुक्क गलेर सुस्केरा मात्र बाँकी रहेको साहिँलीको जिउजस्तो हुने रहेछ । साहिँलीको ढाड पनि सुकेर धरो नअट्ने भएको छ । धरो नथाम्ने भएको छ ।
२४ क्यारेटको अनुभव त्यसै कहाँ प्राप्त हुन्छ र तर के गर्नु अनुभवको बजार नहुने । टोलतिर, गल्लीतिर, चोकतिर अनुभवैअनुभवले चाम्टिएका बुढाबुढी जम्मा भएर हाटबजारै लागे नि हुन त के पो होला र ?
आँगनघरे साहिँलीका सन्तानले डाँडाकाँडा ढाकेका छन् । भए पनि साहिँलीले तादी नै कहिले हो भेट हुँदा भनेको बिर्सेको छैन । छुट्टिएर बेग्लै बसेकी उनले भनेकी थिइन्– ‘न राति सुत्ने बेलामा मुट्ठी र पैतालामा घस्ने एकचम्ठी तेल दिए, न त कम्मरमा बाँध्ने कोराको एउटा सातहाते धरो नै ! छोराबुहारीका कुरा सुन्दै जिउ चिल्चिल्याएर आउँछ । घाटी खिइर्याएर आउँछ । मनमा राँको बल्छ ।’
यो त हो आँगनघरे साहिँलीको कुरा । पाखाघरे, जेठाबाले पनि त त्यस्तै भन्छन्– ‘के गर्नु र माहिला हाम्रा आँसुको मूल्य नै छैन, नत्र त छोराबुहारीका तोहोर्काले हिजो रातभरि रुँदा भिजेको मेरो सिरानीको मूल्य एक लाख त पथ्र्यो होला नि !’ भन्न त पाखारे जेठाबालाई उनले सहेको पीडाका डाडालाई आधार बनाएर डाडाघरे माहिलाले एकपटक भनेको थियो– “निधारे पहाडको पिङमच्चे भिरजस्तो तपाईंको हृदयमा पनि दुखाइ, पिर, मर्का, ओसेप, सुख्खा, चिस्यान, घामपानी, तातोचिसो, पिरो, पिरलोले केही लुतो नलाग्ने; हैन्तो पाखारे बा ?’
आँगनघरे तल्तिर सम्मोमा बस्छिन् । पाखारे माथितिर पाखामा बस्छन् । उनीहरू तल्लोमाथ्लो टोलका तर एउटै गाउँका हुन् । कुनै बेलामा उनीहरू गाउँका हर्ताकर्ता नै थिए । सम्पत्ति त हिजो पनि उनीहरूसँग केही थिएन तर मानमनितो प्रशस्तै थियो । हिजोका उनिहरूका दिन अमनचयन र अभावहीन थिए तर आज उनीहरूका दिन उकुसमुकुस र अभावका ।
मानिसको स्वभाव नै यस्तो हुन्छ कि उसले वर्तमानलाई सधैँ अपूर्ण देख्छ तर विगतलाई भने पूर्ण सम्झन्छ । सायद स्मृति एउटा कुशल चित्रकार हो, जसले विगतका पीडालाई धुमिल्याइदिन्छ र सुखका क्षणलाई झन् उज्यालो बनाइदिन्छ । त्यसैले हिजोका दिन हामीलाई आज स्वर्गजस्ता लाग्छन् जबकि आजका दिन उकुसमुकुस र अस्तव्यस्त देखिन्छन् । हिजो अभावबिच पनि आनन्द थियो, आज प्रशस्तताबिच पनि उकुसमुकुस छ । हिजो थोरै कुरामा मन रमाउँथ्यो, आज धेरै कुरा भएर पनि मन तृप्त हुन सक्दैन । आखिर मानिसलाई सुखी बनाउने वस्तुको सङ्ख्या होइन, तिनलाई अनुभव गर्ने मनको अवस्था रहेछ कि !
आँगनघरे साहिँली र पाखाघरे जेठाबाको जस्तै जीवनयापन फुदिन्डुसमेतको हुने त होला !
बाल्यकाल आफैँमा त्यति धनी हुँदैन । अभाव हुन्छ । कठिनाइ हुन्छ, खुट्टामा चप्पल नभए पनि बाटामा हिड्नुपर्छ तैपनि आरामै हुन्छ किनकि मन खाली हुन्छ र खाली भाँडोमा नै आकाश अटाउँछ । जस्तो कि खाली बाँसको पोरो (ढुङ्ग्रो) ले मात्र बाँसुरी बन्ने सम्भावना बोक्छ, त्यसरी नै खाली मनले मात्र आनन्दको धुन बोक्न सक्छ ।
हामी परिवर्तन चाहन्छौँ तर स्थिरता पनि खोज्छौं; विकास चाहन्छौँ तर शान्ति पनि खोज्छौँ । रुचेनिटारमा अहिले चहलपहल बढेको होला । बाटो पुगेको होला; घर थपिएका होलान्; मान्छेका पाइला घना भएका होलान् तर पिङमच्चे भिर ? माथि नै उल्लेख भइसक्यो कि ऊ उस्तै होला । ओसेपिलो थियो, ओसेपिलो नै होला । घाम ढिलो पुग्ने, चिस्यान बस्ने, काई लाग्ने । पुर्खाका पालादेखि ऊ यसै अवस्थामा उभिएको छ र कहिल्यै कसैसँग गुनासो गरेको छैन ।
किन हो कुन्नि पिङमच्चेलाई सम्झेर रुचेनीको मनभरी कहिलेकाहीँ पश्चातापको मेहोरो चल्छ रे भन्ने हल्ला रुचेनिटारको बजारभरि दिनहुँजसो चल्छ रे !
पिङमच्चेले पुस्तौँदेखि आफ्नो स्वभाव फेरेको छैन । न मानिसको प्रशंसा खोजेको छ, न कसैको अनुमोदन, न आधुनिकताको प्रदर्शनमा लागेको छ, न आफ्नो अस्तित्वको विज्ञापन गरेको छ । ऊ आफ्नै स्वभावमा अडिग छ । ऊ प्रकृतिको मौलिकता एउटा जीवन्त प्रतीक हो । आफ्नो स्वभाव जोगाएर बाँच्नु पनि अस्तित्वको एउटा विशिष्ट शक्ति रहेछ भन्ने कुरा उसले मौन रूपमै सिकाइरहेको छ । ऊ दिगम्बर छ । उसले आफ्नो नग्न प्राकृतिक स्वरूप कहिल्यै लुकाएको छैन ।
ऊ दिगम्बर छ । उसले कुनै आवरण धारण गरेको छैन तर उसको दौलत असीम छ । उसको खजाना मदुसभरि छ । यही दिगम्बरता नै उसको दौलत हो । यही उसको अमूल्य खजाना हो ।
मानिसहरू आफ्नो वास्तविक स्वरूप लुकाएर अरूलाई आकर्षित गर्न अनेक आवरण ओढ्छन् । प्रतिष्ठा, सम्पत्ति, पद र शक्तिका माध्यमबाट आफूलाई अरूभन्दा भिन्न र विशिष्ट देखाउने प्रयत्न गर्छन्; जस्तो कि रुचेनिटार तर पिङमच्चेलाई त्यस्तो कुनै आवश्यकता छैन । ऊ जे हो, त्यही छ । उसको सौन्दर्य उसको मौलिकतामा छ, उसको सम्पत्ति उसको प्राकृतिक स्वरूपमा छ ।
पिङमच्चेका यही र यस्तै यस्तै कुरा तर आफ्ना जिउभरि हुँदानहुँदा फेरबदल परिवर्तन भएका तथ्याङ्क सम्झेर रुचेनीको मनमा पश्चातापको मेहेरो चल्ने गरेको बेहोरा रुचेनीबजारका सबैले अड्कल गरेको विषय हो । पुर्खाले पनि पिङमच्चेको दिगम्बरता देखेका थिए र यो ओसेपिलोपन भोगेका थिए तर उनीहरू हरेस खाएनन् । परिस्थिति जस्तोसुकै भए पनि उनीहरूले धैर्य राखेर अगाडि बढे । यही त जीवनको सबैभन्दा ठुलो शिक्षा हो, परिस्थिति हाम्रो नियन्त्रणमा नहुन सक्छ तर त्यसप्रतिको हाम्रो दृष्टिकोण भने हाम्रै नियन्त्रणमा हुन्छ । पिङमच्चे भिरको दिगम्बरता हामीले बदल्न सक्दैनौँ तर त्यसलाई हेर्ने हाम्रो नजर र मनोभाव भने हामी आफैले रोज्न सक्छौँ । त्यसैले जीवनका कठिनाइलाई अन्त्य नभई अवसरका रूपमा लिन सके उकुसमुकुस जीवनको पनि अर्थ बन्न सक्छ ।
टारले परिवर्तनलाई हात फैलाएर स्वागत गर्छ, भिरले परिवर्तनको अगाडि मौन उभिन्छ । यी दुईमध्ये को ठुलो, को सानो ? भन्न गाह्रो छ । सकिँदैन । चहलपहल बढ्नु विकास हो कि विस्थापन ? त्यो पनि अनिश्चित छ ।
पिङमच्चे भिरलाई सम्झिँदा आफ्नै जीवनको पनि सम्झना आउँछ । हामी पनि कुनै समय त्यही बाल्यकालका निष्कपट मानिस थियौँ तर समयसँगै हामी बदलियौँ । हाम्रा अनुहारमा उमेर थपियो; विचारमा अनेक तह थपिए; सम्बन्धको स्वरूप फेरियो र जीवनका प्राथमिकता पनि फेरिए । ङिमाङिटु लामा, प्रेमबहादुर सम्पूर्ण, रमणसिंह घले र फुदिन्डु लामासँग बिताएका ती दिन अहिले स्मृतिमा मात्र बाँकी छन् । हामी कहाँ छौँ, कस्तो अवस्थामा छौँ र कति बदलिएका छौँ भन्ने कुरा समयले मात्र जान्दछ तर ती दिनमा बाँचेको आत्मीयता अझै स्मृतिमा जीवित छ ।
सायद स्मृति मानिसको सबैभन्दा निजी सम्पत्ति हो । धनसम्पत्ति अरूले खोस्न सक्छन्; पद र प्रतिष्ठा समयले खोस्न सक्छ; शरीरले आफ्नो सामथ्र्य गुमाउन सक्छ तर मनको गहिराइमा सुरक्षित रहेका केही स्मृति सजिलै मेटिँदैनन् । तिनले मानिसलाई पटकपटक विगतमा फर्काउँछन् । विगतमा फर्किनु भनेको बितेको समयलाई पुन: प्राप्त गर्नु होइन, आफूले जीवनको कुनै कालखण्डमा अनुभव गरेको निष्कपटता र आनन्दसँग फेरि साक्षात्कार गर्नु हो । मानिसको जीवन पनि एउटा भिरजस्तै रहेछ । बाहिरबाट हेर्दा समयले धेरै कुरा फेरिदिएको देखिन्छ तर भित्र कतै केही पुराना स्वरूप सुरक्षित रहन्छन् ।
हामी जति नै आधुनिक, व्यस्त र परिपक्व हुँदै गए पनि बाल्यकालको एउटा निष्कपट मानिस हामीभित्र कतै जीवित रहिरहेको हुन्छ । कहिलेकाहीँ कुनै ठाउँ, कुनै बाटो, कुनै अनुहार, कुनै गीत वा कुनै स्मृतिले त्यस मानिसलाई फेरि ब्युँझाइदिन्छ ।
स्मृति अर्थात् हिजो, वर्तमान अर्थात् आज र भविष्य अर्थात् भोलि—यी तीनै अवस्था एउटै सिक्काका दुई पाटाजस्तै अविभाज्य छन् । तीन अवस्था, एउटै जीवन । हिजोका आनन्दका दिन स्मृतिमा छन्; आजका उकुसमुकुस दिन वर्तमानमा छन् र भोलिको खजाना अझै अज्ञात छ ।
आजको उकुसमुकुस जीवनबाट केही क्षणमुक्त भएर ती स्कुले दिन सम्झिनु पनि आफैँमा एउटा आत्मिक विश्राम हो । पिङमच्चे भिरको ओसेपिलोपन सम्झिनु, रुचेनिटारको पुरानो परिवेश सम्झिनु र ती प्रिय साथीसँग बिताएका क्षण मनमा उतार्नु केवल विगतको स्मरण गर्नु मात्रै होइन; आफ्नो अस्तित्वको एउटा महŒवपूर्ण अंशसँग पुन: जोडिनु पनि हो । अन्तत: समयको सबैभन्दा ठुलो विडम्बना यही रहेछ, जुन क्षणमा हामी बाँच्छौँ, त्यसको महŒव त्यति बेला बुझ्दैनौँ; जब त्यसलाई गुमाइसक्छौँ; तब त्यसैको मूल्य खोज्न थाल्छौँ ।
बाल्यकालमा भविष्यको चिन्ता थिएन, त्यसैले त्यो बेलाको वर्तमान सुन्दर थियो । आज भविष्यको चिन्ता छ । त्यसैले वर्तमान पनि बोझिलो भएको छ तर जीवनको अर्थ विगतमा फर्किनु मात्र होइन, विगतले सिकाएको सरलता, निष्कपटता र आत्मीयतालाई वर्तमानमा पनि बचाइराख्नु हो ।
आशा गरौँ । आशा नै जीवनको ठुलो दौलत हो । आजका कठिन दिन पनि भोलि सुन्दर स्मृति बन्न सक्छन् र अज्ञात भविष्यमा नयाँ सम्भावना, शान्ति र पूर्णता प्रतीक्षित छ । जसरी पिङमच्चे भिरले शून्यतामा पनि असीम दौलत बोकेको छ, त्यसरी नै मानिसको मन पनि आशाको बलले असीम सम्भावना बोक्न सक्छ ।
रुचेनिटार बदलियो होला, बाटा फेरिए होलान्, मानिसका जीवन र सम्बन्ध पनि फेरिए होलान् तर पिङमच्चे भिर आफ्नै स्वभावमा अडिग रहोस् । उसको ओसेपिलोपन, दिगम्बरता र मौलिकता जोगिइरहोस् । कुनै ठाउँको वास्तविक सम्पत्ति त्यहाँ बनेका संरचना मात्र होइनन्, समयको प्रवाहमा पनि बाँकी रहेका त्यसका मौलिक पहिचान हुन् ।
ती स्कुले दिनका प्रिय साथीहरू ङिमाङिटु लामा, प्रेमबहादुर सम्पूर्ण, रमणसिंह घले र म अनि फुदिन्डु लामा—ती पाँच साथी सायद अब कहिल्यै पहिलेजस्तै एकै ठाउँमा जम्मा हुने छैनन् । समयले घर फर्कने बाटा छुट्याइसकेको छ । हामी सबै जहाँ भए पनि ती दिन हाम्रो जीवनको साझा खजाना भएर रहिरहुन् । समयले हामीलाई अलगअलग दिशामा पुर्याए पनि स्मृतिको एउटा कुनामा हामी अझै सँगै छौँ । सायद यही नै जीवनको सुन्दरतम सार हो; सुन्दरतम् दर्शन हो– समय बितेर जान्छ, मानिस बदलिन्छ, संसार फेरिन्छ तर आत्मीयताले छोएका केही क्षण कहिल्यै पुराना हुँदैनन् ।





