आबुधावी । रुस र युक्रेन युद्धबन्दी साटासाट गर्न सहमत भएका छन् । नौ महिनापछि युएईको अबुधाबीमा दुई दिनसम्म चलेको प्रत्यक्ष शान्तिवार्तामा यसबारे सैद्धान्तिक सहमति भएको हो ।
वार्तामा युद्ध अन्त्य गर्ने मुख्य विषयमा भने सहमति जुट्न सकेको छैन । विशेषगरी भूभागको स्वामित्वसम्बन्धी विवादले शान्तिवार्ताले निष्कर्ष प्राप्त गर्न नसकेको बताइएको छ ।
वार्तामा साटासाट गर्ने सङ्ख्या छिट्टै टुङ्गो लगाइने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुस्नरले यो युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो मानवीय आधारको युद्धबन्दी रिहाइ हुने बताए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसको दायरा उल्लेखनीय हुने बताए ।
रोयटर्सका अनुसार वार्तामा सहभागी दुवै देशले प्रगति भएको बताएका छन् तर युद्ध अन्त्य गर्ने ठोस सहमति भने सार्वजनिक भएको छैन ।
कुश्नरले दोस्रो विश्वयुद्धपछि युरोपकै ठुलो द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थकर्ताले दुवै पक्षको हितलाई ध्यानमा राखेर छलफल गरिरहेको दाबी गरेका छन् ।
‘यति लामो द्वन्द्वपछि दुई पक्षबिच अहिले विश्वास छैन । यस्तो हुनु स्वाभाविक हो’ उनले भने– ‘यो राम्रो सुरुआत हो ।’
उनका अनुसार वार्तामा भूभागसम्बन्धी विषय पनि उठेको थियो तर त्यसमा सहमति जुटाउनु सबैभन्दा कठिन विषय बनेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौताका लागि युक्रेनले पूर्वी क्षेत्र डोनबासको पूरै भूभाग छाड्नुपर्ने माग गर्दै आएका छन् । युक्रेनले भने उक्त माग अस्वीकार गर्दै आएको छ ।
भूभागको विषयमा वार्ता अड्किएपछि अमेरिकी मध्यस्थकर्ताले युद्धपछिको सुरक्षा प्रत्याभूति र पुनर्निर्माणका विषयमा छलफल अघि बढाउन खोजेका छन् । (एजेन्सी)





