काठमाडौँ । इजरायली कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमाथि आक्रमणका लागि अमेरिकालाई उक्साइरहेको अवस्था छ ।
इरानमाथि छिटो आक्रमण गर्नका लागि नेतान्याहूले दैनिक अमेरिकी राष्ट्रपति ट्रम्पलाई फोन गरिरहेको जानकारी प्राप्त भएको हो ।
पछिल्ला दिनमा ट्रम्प र नेतान्याहूमाझको फोनवार्ता चर्काचर्की र चिच्याहटसम्म पुगेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सञ्चारमाध्यम यानेट र येदिओत अहरोनोतका अनुसार नेतान्याहूले इरान विरुद्ध पुन: सैन्य कारबाही सुरु गर्न ट्रम्पमाथि दबाब दिइरहेका छन् तर ट्रम्प भने तेहरानसँगको शान्ति वार्तालाई निरन्तरता दिन चाहन्छन् ।
नेतान्याहूले इरानमाथि पुन: आक्रमण गरी सत्ता परिवर्तनको दिशामा अघि बढ्न अमेरिकालाई आग्रह गरिरहेका छन् तर ट्रम्प तत्काल सैन्य कारबाही पुन: सुरु गर्ने पक्षमा छैनन् । उनले आर्थिक दबाब कायम राख्दै कूटनीतिक वार्तामार्फत इरानबाट सहुलियत प्राप्त गर्न चाहिरहेका जनाइएको छ ।
फाइनान्सियल टाइम्सले केही दिनअघि प्रकाशन गरेको रिपोर्टमा नेतान्याहूले इरान विरुद्ध पूर्ण सैन्य कारबाही पुन: सुरु गर्न ट्रम्पलाई मनाउन दैनिक फोन गरिरहेका उल्लेख गरेको थियो ।
एक वरिष्ठ इजरायली अधिकारीले सप्ताहान्तमा दुई नेताबिच कुराकानी भएको पुष्टि गरे पनि चर्काचर्की भएको खबरलाई अस्वीकार गरेका छन् । नेतान्याहूको कार्यालयले पनि फोनवार्तामा विवाद भएको खबरलाई फेक न्युज भन्दै खारेज गरेको छ ।
इरान मामिलाका विषयमा ट्रम्प र नेतान्याहूबिच यसअघि पनि असहमति देखिएको थियो । यस वर्ष जुनमा भएको एक फोनवार्ताका क्रममा ट्रम्पले नेतान्याहूलाई पागल बताएका थिए । उनले द पोस्टसँगको कुराकानीमा उक्त प्रसङ्ग खुलाएका थिए ।
अक्टोबर २७ को निर्वाचनपछि नेतान्याहूको राजनीतिक भविष्य पनि अनिश्चित बनेको छ । (एजेन्सी)





