काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा व्यापार, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल हुने भारतको उत्तराखण्डका क्याबिनेट मन्त्री सतपाल महाराजले बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २२ (मंसिर ६) मा भारत भ्रमणमा जाने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा लामो समयदेखि अलपत्र पञ्चेश्वर बाँध परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने मन्त्री महाराजले बताएका छन्।
त्यस्तै, महेन्द्रनगरमा ड्राइपोर्ट निर्माण, नेपाल–भारत सीमा व्यापार तथा तराई क्षेत्रमा धार्मिक पर्यटन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन्।
मन्त्री महाराजले नेपालस्थित सिद्धबाबा मन्दिर र भारतको पूर्णागिरी मन्दिरबीच धार्मिक पर्यटन सहकार्य बढाउन तथा चितवन राष्ट्रिय निकुञ्ज र जिम कर्बेट राष्ट्रिय निकुञ्जबीच सम्पर्क र सहकार्य स्थापित गर्न प्रस्ताव गरेका छन्।
यी विषयमा हुने छलफलले नेपाल–भारतबीचको आर्थिक, पूर्वाधार तथा धार्मिक पर्यटन सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





