नयाँदिल्ली । भारतको दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल र उनकी छोरी हर्षितालाई ज्यान मार्ने धम्की दिइएको छ ।
लरेन्स बिश्नोई समूहको नामबाट ज्यान मार्ने आएको सो धम्कीसँगै धम्की दिने व्यक्तिले सात करोड भारतीय रुपैयाँ फिरौतीसमेत माग गरेको हो ।
दिल्लीको तिलकनगर क्षेत्रका आपका विधायक जरनैल सिंहका अनुसार बिश्नोई ग्याङको सदस्य बताउने एक व्यक्तिले फोन कल र ह्वाट्सएप सन्देशमार्फत उक्त धम्की दिएका हुन् । माग गरिएको सात करोड रुपैयाँ नदिएमा केजरीवाल र उनकी छोरी हर्षिताको हत्या गरिदिने चेतावनी धम्की दिने व्यक्तिले दिएका छन् ।
धम्कीपछि नोभेम्बर ६ का दिन विधायक सिंहले पञ्जाबको मोहालीस्थित वरिष्ठ प्रहरी उपरीक्षकसमक्ष उजुरी दर्ता गराएका छन् । उजुरीका आधारमा मोहाली प्रहरीले भारतीय न्याय संहिता र सूचना प्रविधि ऐनका विभिन्न दफाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । (एजेन्सी)





