विराटनगर । आजदेखि कोशी प्रदेशमा नेपाली भाषाबाहेकका अन्य भाषा सरकारी कामकाजको रूपमा लागु भएका छन् ।
एक सय एकचालिसौँ फाल्गुनन्द जन्मजयन्तीको अवसरमा कोशी प्रदेशमा बहुभाषिक प्रदेश लागु भएको हो ।
सरकारले राई, थारू, तामाङ, मगर , बान्तवा, उर्दु, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा, सन्थाली र राई भाषालाई समेत समेटेर कानुनी व्यवस्था गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै आजदेखि प्रत्येक वर्ष कात्तिक २५ गते भाषा दिवस मनाउने बताए ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति, समाज सुधारक तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको एक सय एकचालिसौँ जन्मजयन्तीका अवसरमा महागुरु लिङ्देनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिएका छन् ।
प्रदेशमा बोलिने विभिन्न भाषा तथा मातृभाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन आजैदेखि कार्यान्वयनमा ल्याउने घोषणा गर्दै मुख्यमन्त्री कार्कीले सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर फाल्गुनन्दले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेदको अन्त्य गर्न उनको योगदान उच्च रहेको बताए ।
मुख्यमन्त्री कार्कीले सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणका लागि महागुरु फाल्गुनन्दले पुर्याएको योगदान अतुलनीय बताउँदै सत्य, शान्ति, मानवता र समाजिक सुधारको मार्ग तथा उनका अमूल्य शिक्षाहरू आज पनि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको जनाए ।
‘भाषा केवल सञ्चारको माध्यम मात्र होइन, यो कुनै पनि समुदायको पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको जीवन्त आधार हो । कुनै भाषा लोप हुनु भनेको त्यस भाषासँग जोडिएको ज्ञान, परम्परा, इतिहास र सांस्कृतिक सम्पदा गुम्नु पनि हो’ मुख्यमन्त्री कार्कीले भने– ‘त्यसैले प्रदेशमा प्रचलित सबै भाषा तथा मातृभाषाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’
उनले थपे– ‘प्रदेशको सरकारी कामकाजमा भाषाको प्रयोग विस्तार गर्दै भाषिक विविधतालाई संस्थागत सम्मान प्रदान गर्ने दिशामा आजको दिन एउटा महत्त्वपूर्ण उलब्धि र ऐतिहासिक प्रस्थानबिन्दु बनेको विश्वास छ ।’





