अन्ताल्या (टर्की) । बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रको एकतिसौँ सम्मेलन (कोप–३१) अन्तर्गत यहाँस्थित नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्म : नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्वसूचना प्रणालीको पहुँच, प्रविधि, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारी अघि बढाएको जानकारी दिए ।
डा उप्रेतीले हिमाली क्षेत्रमा तापक्रम, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न सक्ने बलियो प्रणाली आवश्यक रहेको बताए ।
ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा बिपद्सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सरकारी संरचना रहेपनि समुदायस्तरमा सूचना पुर्याउने प्रणाली समावेशी र प्रभावकारी हुन नसकेको बताए ।
उनले गृह मन्त्रालयअन्तर्गत जिल्ला बिपद् व्यवस्थापन समिति, स्थानीय बिपद् व्यवस्थापन समिति र वडा तहका समितिलाई समुदायमा बिपद्सम्बन्धी सूचना प्रवाह गर्ने जिम्मेवारी भए पनि मोबाइल सन्देशमा अत्यधिक निर्भरता रहेको बताए ।
कार्यक्रममा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरका कार्यकारी निर्देशक अस्लम पेरवाल्जले नेपालजस्तो भौगोलिक विविधता र उच्च बिपद् जोखिम भएको मुलुकमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोत परिचालनको नयाँ ढाँचा आवश्यक रहेको बताए ।
उनले फिलिपिन्सको राष्ट्रिय आर्थिक तथा विकास प्राधिकरण (नेडा) ले अघि सारेको अनुकूलन वित्त परिचालनको अवधारणाबारे जानकारी दिँदै जोखिम मूल्याङ्कन, जोखिम नक्साङ्कन र स्थानीय समुदायसँगको परामर्शमा लगानी बढाउनुपर्ने बताए ।
प्राक्टिकल एक्सन बङ्गलादेशकी जलवायु तथा उत्थानशीलता प्रमुख तमान्नाह रहमानले बङ्गलादेशमा मोबाइल फोनमार्फत आवाजमा आधारित पूर्वसूचना प्रणाली प्रभावकारी भएको अनुभव सुनाए ।
उनले बङ्गलादेशमा ९८ प्रतिशत जनसङ्याको पहुँचमा मोबाइल फोन भए पनि स्मार्टफोन प्रयोग गर्नेको सङ्ख्या १६ प्रतिशत मात्र रहेकाले सबै समुदायसम्म सूचना पुर्याउन आवाजमा आधारित सन्देश प्रणाली विकास गरिएको बताए ।
बाढी पूर्वानुमान तथा पूर्वसूचना केन्द्रबाट प्राप्त प्राविधिक सूचनालाई सर्वसाधारणले बुझ्ने सरल भाषामा रूपान्तरण गरी करिब एक मिनेटको आवाज सन्देश बनाएर मोबाइलमार्फत समुदायमा पठाउने गरिएको उनले जानकारी दिए ।
ग्रामीणमुखी युवा अभियान नेपाल र प्राक्टिकल एक्सनको आयोजनामा भएको छलफलको सहजीकरण प्राक्टिकल एक्सनकी वरिष्ठ जलवायु उत्थानशीलता सल्लाहकार डेमेट इन्टेपेले गरेका थिए ।





